१० हजार तिरेर पी-१ बुकिङ गर्न सकिने, यी हुन् मुख्य फिचर

काठमाडौं । पछिल्लो सयम नेपालमा धरहरा र यात्री मोटरसाइकल निकै चर्चामा रहेका छन् । धरहराको पुनर्निमाण भएको हो भने यात्रीले नेपालमा नै डिजाइन र उत्पादन गरेर मोटरसाइकल निर्माण गरेको हो ।

नेपाली युवा इन्जिनियर असिम पाण्डेले नेतृत्व गरेको टिमले यात्री ब्राण्डमा दुई मोटरसाइकलको टेष्ट ड्राइभ आयोजना गरेसँगै यसको चर्चा चुलिएको हो ।

यात्री मोटरसाइकल कम्पनीले निर्माण गरेको यात्री पी-० पूर्व निर्धारित मोडल थियो भने, पी-१ सप्र्राइज मोडलको रुपमा आएको थियो ।

यात्रीले आफ्नो पी-० गतवर्ष नै सार्वजनिक गर्दै यसको ५० यूनिट मात्रै उत्पादन गर्ने जनाएको थियो । कम्पनीले यात्री पी-० को मूल्य १९ लाख ५० हजार निर्धारण गरेको छ । बुकिङ गर्ने ग्राहकलाई केहि समय पश्चात् यसको डेलिभरी गर्ने योजना कम्पनीले बनाएको छ ।

कोभिड १९ को कारण अघिल्लो वर्षदेखि धेरै उतारचढाव भोगेको कम्पनीले नयाँ मोडल पी-१ को टेष्ट ड्राइभ आयोजना गरेसँगै थप चर्चा बटुल्न सफल भयो । डबल स्पोर्टस डिजाइनमा निर्माण भएको पी-१ को बुकिङ समेत कम्पनीले सुरु गरिसकेको छ ।

पी-१ को मूल्य ४ लाख ९५ हजार रुपैयाँ निर्धारण गरेको छ भने कम्पनीको आधिकारीक वेवसाइट मार्फत बुकिङ गर्न सकिने छ । बुकिङ गर्ने ग्राहकले १० हजार रुपैयाँ टोकन रकम बुझाउनु पर्ने हुन्छ ।

‘अहिले बुकिङ गर्ने ग्राहकलाई हामी तीन महिना भित्र मोटरसाइकल डेलिभरी दिन सक्ने अवस्थामा छौं । जति डिमान्ड आएपनि त्यसलाई पुरा गर्न सक्नेगरि हामी काम गरिरहेका छौं’, कम्पनीका सीइओ वत्सल पाण्डेले मेरोअटोसँग भने ।

यात्री पी-१ मा ३ किलोवाट आवरको लिथियम आयोन व्याट्री दिएको छ । यसमा रहेको मोटरले १९ हर्सपावर र ४८० एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकल एकपटक फुल चार्ज गरेर ११० किलोमिटर चलाउन सकिने कम्पनीको दाबी छ ।

टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघन्टा रहेको यो मोटरसाइकलमा दिइएको व्याट्रीलाई फास्ट चार्जर मार्फत चार्जगर्दा १ घन्टा र रेगुलर चार्जरबाट चार्जगर्दा ६ घन्टामा फुल चार्ज गर्न सकिन्छ ।

यसमा कम्पनीले पूर्ण रुपमा एलइडी लाइटको प्रयोग गरेको छ भने, यसको फ्रन्टमा यूएसडी र रियरमा मोनोशक सस्पेन्सन दिइएको छ । यसको दुबै ह्वीलमा डिस्क ब्रेक र ट्युवलेस टायर रहेको छ ।


Back_to_top