काठमाडौं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले कोनाको मूल्य २ लाख रुपैयाँले घटाएको छ । कम्पनीले कोना जीएलको मूल्य एकै पटक २ लाख रुपैयाँले घटाएको हो ।
चाडपर्वको समयमा गाडी किन्ने ग्राहकलाई लक्षित गर्दै कम्पनीले कोना जीएलको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ कायम गरेको हो । यसअघि कोना जीएलको मूल्य ६१ लाख ९६ हजार रुपैयाँ थियो । कम्पनीले सनरुफ सहितको भेरियन्ट जीएलएसको मूल्य भने ६४ लाख ९६ हजार नै कायम राखेको छ ।
विद्युतीय गाडीमा बढिरहेको तिब्र प्रतिस्पर्धामा आफुलाई खरो उतार्न कम्पनीले मूल्य समायोजन गरेको बुझ्न कठिन छैन । मूल्य घटेसँगै प्रतिस्पर्धा पनि रोचक हुने देखिन्छ ।
सन् २०१८ देखि निरन्तर नेपाली बजारमा रहेको कोना सफल क्रसओभर ईभी हो । सन् २०२२ मा फेसलिफ्ट भएर आएको कोना रेन्ज, सुरक्षा फिचर र एड्भान्स कनेक्टिभीटीको मिश्रण हो ।
हुन्डाईले कोनामा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटीभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राइभ वाइ वायर सिस्टम तथा क्लाइमेट प्रि–सेटिङ जस्ता आधुनिक सुरक्षा फिचर उपलब्ध गराएको छ ।

हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर व्याट्री पाउन सकिन्छ । हाइ इनर्जी डेन्सीटी भएको कारण सानो ब्याट्री भएपनि यसको रेन्ज ३०५ किलोमिटर रहेको डब्लूएलटीपीले प्रमाणित गरेको छ ।
यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ । कम्पनीले यसको ड्यासबोर्डमा दिएको ८ इन्चको टच स्क्रृनयुक्त भिजुअल न्याभिगेसन सिस्टमले ड्राइभिङ अनुभवलाई उच्च स्तरिय बनाउने
कम्पनीको दाबी छ ।
नेपाली बजारमा कोना इलेक्ट्रिक एट्लास ह्वाइट, साइबर ग्रे, ग्यालाटिक ग्रे, पल्स रेड, सर्फी ब्लु तथा डार्क नाइटजस्ता कलर अप्सनमा उपलब्ध छन् ।


