काठमाडौं । नेपालमा संचालित राइड शेयरिङ कम्पनीहरूले मनोमानी गरेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलनमा उत्रिएको छ । उनीहरूले आइतबार काठमाडौंको बल्खुमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरू राइड शेयरिङ कम्पनीले मनोमानी भाडा निर्धारण गरेको, राइडरहरूको श्रम शोषण गरेको, यसअघि राखिएका मागहरू वेवास्ता गरेको लगायत माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।
त्यस्तै, उनीहरूले सबै राइड शेयरिङ कम्पनीहरूले प्रतिकिलोमिटर २७ रुपैयाँ समान भाडादर लागू गर्नुपर्ने, विभिन्न स्कीम अन्तर्गत राइडरहरूको भाडादर घटाउने/बढाउने कार्य तुरुन्त बन्द गर्नुपर्ने, दर्ता नभएका राइड शेयरिङ कम्पनीहरूलाई सेवा संचालनमा रोक लगाउनुपर्ने, विदेशी राइड शेयरिङ कम्पनीहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने माग राखेका छन् ।
उनीहरूले आन्दोलन चरणबद्ध रूपमा अघि बढाउने घोषणा गरेका छन् । जसमा सामूहिक धर्ना, र्याली, जुलुस तथा नारा प्रदर्शन, जनसमर्थन जुटाउन व्यापक हस्ताक्षर अभियान, रिले आन्दोलनमार्फत निरन्तर दबाब सिर्जना गर्ने घोषणा गरेका छन् । आफूहरूको माग वेवास्ता गरिरहे राइड शेयरिङ सेवा नै पूर्ण बन्द गर्ने उनीहरूको चेतावनी छ ।

