काठमाडौं । मलेसियन ब्राण्ड प्रोटोनले नेपाली बजारमा इमास सेभेन लन्च गरेको ९ महिना भयो । जगदम्बा मोटर्सले नेपाल ल्याएको प्रोटोन इमास सेभेन दुई भेरियन्टमा उपलब्ध छ ।
सुरूवातमा प्राइम भेरियन्टको ५६ लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको थियो । अहिले पनि प्रिमियम भेरियन्टको मूल्य पुरानै कायम गरे पनि प्राइम भेरियन्टको मूल्यमा १० लाख रुपैयाँ छुट दिएर बिक्री भइरहेको छ ।
जगदम्बा मोटर्सले ज्ञानेश्वरको एटिक रेस्टुरेन्टमा एक्सचेन्ज क्याम्प संचालन गरेरै मूल्य घटाएको हो । कम्पनीले चलाएको एक्सचेन्ज क्याम्प भोलि (मंसिर ८ गते) सम्म चल्नेछ ।
इमास सेभेनको प्राइम भेरियन्टमा दिइएको १० लाख नगद छुट सम्भवतः ६० लाखभन्दा कम मूल्यको ईभीमा उपलब्ध सबैभन्दा ठूलो अफर हो । कम्पनीले अहिले ४६ लाख ९९ हजार रुपैयाँमा नै प्राइम भेरियन्ट उपलब्ध गराएको छ ।
मासिक किस्ता साढे ४२ हजार मात्रै
बजारमा उपलब्ध कम्प्याक्ट एसयूभीमा इमास सेभेन उत्कृष्ट मोडलमा पर्छ । खासगरी ४.६ मिटर सेग्मेन्टमा उपलब्ध इमास सेभेनको प्राइम भेरियन्ट मासिक ४२ हजार ५६० रुपैयाँ हाराहारी किस्ता तिर्दा नै पुग्ने मोडल हो ।

चिनियाँ कम्पनी जिलीले उत्पादन गरेको ग्यालेक्सी ईएक्स फाइभलाई प्रोटोन ब्राण्डमा रि–ब्याजिङ गरेर ल्याइएको इमास सेभेनको अफर मूल्य अनुसार किस्तामा गाडी किन्दा मूल्यको ४० प्रतिशतले हुन आउने १८ लाख ७९ हजार ६०० रुपैयाँ डाउन पेमेन्ट बापत बुझाउनु पर्ने हुन्छ । डाउन पेमेन्टपछि बाँकी २८ लाख १९ हजार ४०० रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट कर्जा सुविधा पाइन्छ ।
अहिले बैंकहरूले ७ प्रतिशतभन्दा कम ब्याजदरमै अटोकर्जा उपलब्ध गराएका छन् । यहाँ ७ प्रतिशत ब्याजदरमै हिसाब गर्दा पनि ७ वर्षसम्म मासिक ४२ हजार ५६० रुपैयाँ किस्ता तिर्दा पुग्छ ।
के-के फिचर छन् इमास सेभेन प्राइममा ?
प्रोटोन इमास सेभेन प्राइम भेरियन्टमा फ्रन्ट ह्वील ड्राइभ सिस्टम सहित १६० किलोवाटको इलेक्ट्रीक मोटर छ । यसको पीकटर्क भने ३२० न्युटन मिटर छ । पावर र पर्फमेन्सका हिसाबले इमास-७ उत्कृष्ट लाग्छ । यसले शून्यबाट १०० को स्पीड भेट्टाउन ६.९ सेकेण्ड मात्रै लगाउने छ । टप स्पीड भने १७५ किलोमिटर प्रतिघण्टा छ ।
इमास सेभेनको प्राइम भेरियन्टमा ४९.५२ किलोवाट आवर क्षमताको ‘एजिस सर्ट ब्लेड ब्याट्री’ दिइएको छ । उक्त ब्याट्रीलाई सिंगल चार्जमा ३४५ किलोमिटर गुडाउन सकिने डब्लूएलटीपी टेस्टले देखाएको छ । प्रोटोनका अनुसार उक्त ब्याट्रीलाई ९२१ पटक पुरै चार्ज र डिस्चार्ज गर्दा ९०.५ प्रतिशत ब्याट्री हेल्थसहित ४ लाख किलोमिटर सजिलै गुडाउन सकिनेछ ।

निकै सार्प र क्लिन बाहिरी डिजाइनमा तयार भएको इमास सेभेनको भित्री फिचरमा टु स्पोक स्टेरिङ ह्वील, १०.२ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, १५.४ इन्चको सेन्टर इन्फोटेनमेन्ट स्क्रीन पाउन सकिन्छ । प्रिमियम भेरियन्टमा उपलब्ध १३.८ इन्चको हेडअप डिस्प्ले भने प्राइम भेरियन्टमा छैन ।
एडास लेभल टु फिचर उपलब्ध इमास सेभेनको प्राइम भेरियन्टमा अगाडि पार्किङ सेन्सर छैन । त्यो बाहेक प्रिमियम भेरियन्टका सबै एडास भित्रका फिचर प्राइममा पनि उपलब्ध छ ।
प्रोटोनले यसमा दुई लेभलको सेन्टर कन्सोल, स्टेरिङ कोलुममा दिइएको गियर सेलेक्टर दिएको छ । पानारोमिक सनरुफ प्रिमियम भेरियन्टमा मात्रै छ । प्राइम भेरियन्टमा भ्यान्टीलेड र हिटेड सिट छैन । त्यसका अलावा इलेक्ट्रीक पावर टेलगेट छैन । चालकको सिट मिलाउने र पछाडिको सिट रिक्लाइन पनि प्राइम भेरियन्टमा गर्न मिल्दैन ।
साइजमा अब्बल
सी सिग्मेन्ट एसयूभीको रूपमा बजारमा आएको इमास सेभेनको लम्बाइ ४६१५ एमएम, चौडाइ १९०१ एमएम र उचाइ १६७० एमएम छ । २७५० एमएम लामो ह्वीलबेस रहेको एसयूभीमा १७३ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।

