काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिपछि भाडादर बढाएको हो ।
विभागले विभिन्न सूचकहरूको विश्लेषण र इन्धनको मूल्यमा भएको वृद्धिलाई आधार मानि भाडादर बढाएको हो । पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीको भाडादर सबैभन्दा धेरै २१.६८ प्रतिशतले बढाइएको छ ।
त्यस्तै, यात्रुवाहक सवारी साधनको भाडादर १६.७१ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ ।
पछिल्लो सयम इन्धनको मूल्य उच्च वृद्धि हुँदा व्यवसायीले भाडा बढाउन माग गर्दै आएका थिए । मध्यपूर्वमा चर्किएको द्धन्द्धका कारण पछिल्लो एक महिनामै इन्धनको मूल्यमा उच्च वृद्धि भएको छ ।
निगमले १ महिनाको अवधिमै डिजेलको भाउ प्रतिलिटर ४० रुपैयाँ र पेट्रोलको भाउ प्रतिलिटर ४५ रुपैयाँ बढाइएको छ । निगमका अनुसार अझै डिजेलमा प्रतिलिटर १२० रुपैयाँ र डिजेलमा ३४ रुपैयाँ घाटा रहेको छ ।

