नामी र पन्च ईभी किन्नेको कति हुनुपर्छ मासिक कमाई ?

काठमाडौं । बजारमा उपलब्ध दुई चल्तीका विद्युतीय कार नामी–०१ र टाटा पन्च ईभी किन्ने धेरैको चाहना हुनसक्छ । कम मूल्य र उत्कृष्ट फिचर भएका यी दुई कार अहिले बजारमा सर्वाधिक बिक्री हुने मोडल हुन् भन्दा फरक पर्दैन ।

दुबै गाडी नाडा अटो शो २०२४ बाट नेपाली बजारमा प्रबेश गरेका हुन् । यी दुई मध्ये कुनै एक ईभी किन्नेको मासिक कमाई कति भए बैंकले गाडीको मूल्यको ८० प्रतिशत कर्जा उपलब्ध गराउँछ भन्ने चासो धेरैको पाइन्छ ।

मूल्यको हिसावले २५ किलोवाट आवर क्षमताको ब्याट्री भएको पन्च ईभीको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री हुँदै आएको छ । जबकी नामी–०१ मोडलको टप भेरियन्ट किन्न पनि ३४ लाख ९९ हजार रुपैयाँ नै तिर्नु पर्ने हुन्छ । दुबै मोडलको मूल्य समान भएपछि कर्जा रकम र मासिक किस्ता पनि एउटै हुने भयो ।

कति हुनुपर्छ मासिक कमाई ?

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कुनै पनि ब्यक्तिको मासिक कमाइको ५० प्रतिशतले किस्ता तिर्न पुग्ने कर्जा स्विकृत हुन्छ । यी दुई मोडल किन्ने मानिसले २० प्रतिशतले हुन आउने ६ लाख ९९ हजार ९०० रुपैयाँ तिर्नु पर्छ । बाँकी रकम २७ लाख ९९ हजार २०० रुपैयाँ कर्जा सुविधा लिन सक्नेछन् ।

अहिले बैंकहरुले ८ प्रतिशत ब्याजदरमा नै हायर पर्चेज कर्जा उपलब्ध गराएका छन् । ७ वर्षको लागि कर्जा सुविधा पाउने भएको कारण मासिक ४४ हजार हाराहारी किस्ता तिर्नु पर्ने हुन्छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार टाटा पन्चको इन्ट्री मोडल र नामीको टप मोडल किन्न चाहनेको मासिक ट्याक्स तिरेएकाे कमाई ९० हजार हाराहारी हुनु पर्नेछ । यदि, त्यति रकम मासिक कमाई नदेखेको खण्डमा कर्जा नै स्विकृत हुँदैन ।

के के फिचर छन् यी दुई कारमा ?

दुबै कार आधुनिक फिचरयुक्त मोडल हुन् । त्यसमा टाटा पन्च ईभी सुरक्षामा अब्बल सेफ्टी रेटिङ पाउन सफल मोडल हो । यसले भारत एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।

एडास फिचर सहितको नामीमा सुरक्षा फिचरको लामो लिष्ट छ । तर, यसमा २ वटा मात्रै एयरब्याग दिइएको छ । जबकी टाटा पन्च ईभीमा ६ वटा एयरब्याग दिइएको छ । नामीमा सनरुफ छैन भने पन्च ईभीमा सनरुफ समेत पाउन सकिन्छ ।

ब्याट्रीको कुरा गर्दा नामीमा ४२ किलोवाट आवरको ब्याट्री छ भने टाटा पन्च ईभीमा २५ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । रेन्जमा नामी अगाडि देखिन्छ । पावरमा ९० किलोवाट क्षमताको मोटरसहित पन्च अगाडि देखिदा नामीमा ७० किलोवाटको मोटर छ ।


Back_to_top