साढे ६६ अर्बको जहाज उपहार दिने मनकारी कतारी राजा, नेपालमा ल्याउँदैछन् ३ जहाज

काठमाडौं । कतारका राजा शेख लमिम बिन हमाद अल थानी आज दुई दिने नेपाल भ्रमणमा आउँदै छन् । उनी फिलिपिन्स र बंगलादेशको भ्रमणपछि सिधै नेपाल आउन लागेका हुन् ।

उनी आज  दिउँसाे साढे ३ देखि ४ बजेसम्ममा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण हुने बताइएको छ । उनी आउने समयमा विमानस्थलमा आकष्मिक बाहेक अन्य विमानहरू उडान अवतरण बन्द गरिएको छ ।

कतारको राजाको पहिलो नेपाल भ्रमणको उपलक्षमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । कतारी राजा आफ्नै ३ वटा निजी विमानसहित नेपाल आउन लागेका हुन् ।

अमिरको निजी हवाई उडानका लागि १२ वटा विमान रहेका छन् । कतार एयरवेजसँग २५० भन्दा बढी संख्यामा विमान छन् । तर, अमिरका भीभीआइपी उडानका लागि विशेष विमानको व्यवस्था गरिएको हुन्छ । अमिरको उडानको सबै व्यवस्था कतारी एयरफोर्सले गर्छ ।

उनकाे फ्लिटमा एयसबस ए ३१९ तीनवटा, एयरबस ए ३२० दुईवटा, एयरबस ए ३३० दुईवटा एयरबस ए ३४० तथा बोइङ ७४७ डबल डेकर दुई वटा विमान रहेका छन् ।

उनी नेपाल आउँदा भने एयरबस ए ३४० मा आउने सम्भावना रहेको छ । उनका लागि गाडी समेत कतारबाट ल्याइएको छ । उनको सुरक्षार्थ १०० जनाभन्दा बढी कतारी सुरक्षाकर्मी केही दिन अघि नै नेपाल आइसकेका छन् ।

नेपालको तर्फबाट पनि उनको सुरक्षाका लागि नेपाली सेनाको नेतृत्वमा अति विशिष्ट स्तरको सुरक्षाकर्मीको टोली खटाइएको छ ।

…अनि आफ्नो विमानै उपहार दिए

विश्वकै पाँचौं धनी देशका राजा थानी मनकारी समेत छन् । उनले आफ्नो भ्रमण क्रममा विभिन्न देशलाई महँगा वस्तु उपहार समेत दिने गरेका छन् । ६ वर्ष अघि उनले आफैंले चढ्ने जहाज समेत उपहार दिएका थिए ।

मनकारी कतारी राजाले टर्कीका राष्ट्रपती रिसेप तय्यिप एर्दोगानलाई सन् २०१५ मा बनेको ७४७ विमान नै उपहार दिएका थिए । कतारलाई अन्य अरबी देशहरू साउदी अरब, यूएई, इजिप्ट र बहाराइने नाकाबन्दी लगाउँदा टर्कीले डटेर साथ दिएको थियो ।

सन् २०१८ मा कतारी राजाको फ्लिटमा रहेको एक विमान बिक्रीमा राखिएको थियो । उक्त जहाज किन्न टर्कीका राष्ट्रपति एर्दोगानले इच्छा देखाएका थिए । तर उक्त समयमा टर्की आर्थिक मन्दीमा गुज्रिरहेको थियो । उक्त विमान खरिद नगर्न विपक्षी दलले विरोध गरेपछि उनको विमान किन्ने योजना तुहिएको थियो । तर, कतार राजा थानीले टर्कीका राष्ट्रपतिले आफ्नो विमान किन्न चाहेर पनि नसकेको विषय थाहा पाएपछि उनले उक्त विमान उपहार दिएका थिए ।

बोइङ कम्पनीको सबैभन्दा ठूलो साइजको उक्त विमानमा ४०० जनासम्मले एकैपटक यात्रा गर्न सक्छन् । तर, अमिरका लागि भने ७६ जनाले यात्रा गर्ने विशेष तरिकाको इन्टेरियर बनाइएको थियो । विश्वको सबैभन्दा ठूलो तथा महँगो भीभीआइपी विमानलाई विशेष बनाउन ५० करोड डलर (करिब साढे ६६ अर्ब रुपैयाँ) खर्च भएको थियो । उक्त विमानमा स्टेट बोर्ड रुम, लाउन्ज, बेडरुम, बाथरुम, फस्ट क्लास सिट एरिया तथा हस्पिटलको समेत सुविधा थियो ।

 


Back_to_top