काठमाडौं । नेपाली बजारमा बिक्री हुँदै आएका करिब एक दर्जन साना कारले कति रेन्ज दिन्छ भन्ने धेरैको प्रश्न हुने गर्छ । तर, त्यसको ठ्याक्कै उत्तर पाउन भने सकिँदैन । किनभने विद्युतीय कारले बाटो र चालकको ड्राइभिङ ह्याबिट अनुसार रेन्ज दिन्छ ।
मूल्यका हिसाबले ४० लाखभन्दा कममा आउने विद्युतीय कारले नेपाली सडकको गुणस्तर अनुसार कति रेन्ज दिन्छ भन्ने परीक्षण भएको छैन । तर, हामीले नेपाल आएका सबैगाडी टेष्ट ड्राइभ गरेको आधारमा वास्तविक रेन्जको विषयमा यो रिपोर्ट तयार पारेका हौं ।

नेपालमा बिक्री हुँदै आएका अधिकांश कारहरूको रेन्ज सीएलटीसी, एनईडीसी, एआरएआई र डब्लूएलटीपी जस्ता रिसर्च एजेन्सीले गरेको ल्याब र सडक परीक्षणको परिणामलाई आधार बनाएर दाबी गर्दै आएका छन् । तर, यी सबै गाडीले यी एजेन्सीले दाबी गरेको रेन्ज नेपालमा पाउन सकिँदैन ।

कम्पनीहरूले दाबी गरेकोभन्दा वास्तविक रेन्ज १५ देखि ३० प्रतिशत कम पाइने हाम्रो अनुभवले देखाएको छ । त्यसलाई नै आधार बनाएर बजारमा उपलब्ध एक दर्जन कारको वास्तविक रेन्ज प्रस्तुत गरेका छौं ।


