उपत्यकाका ९ सडकखण्ड विस्तार अलपत्र, सबै योजनाको समय बढाइदै

काठमाडौं । उपत्यका सडक विस्तार आयोजनाले चालु आर्थिक वर्षभित्र सक्ने ३ आयोजना तोकिएको समय अवधिमा नसक्ने भएको छ । लकडाउनका कारण ठेकदारहरुले सडकमा काम गर्न नपाउँदा चाबहिल–साखु, त्रिपुरेश्वर–नागढुंगा र लगनखेल सातदोबाटो सडकखण्ड विस्तारको काम तोकिएको समयमा सम्पन्न नहुने भएको हो ।

आयोजनाले सो सडक विस्तारका काम यथास्थितिमै भए पनि चालु आर्थिक वर्ष भित्र सक्ने योजना बनाएको थियो ।

चालु आर्थिक वर्षमा उपत्यका सडक विस्तारका लागि ६५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सो बजेट मध्ये ६० करोड बजेट खर्च भइसकेको आयोजनाका इन्जिनियर तथा सुचना अधिकारी लक्ष्मण देवकोटाले जानकारी दिए । उनका अनुसार लकडाउनका क्रममा भइरहेका केही कामहरुबाट थप खर्च निस्किन सक्छ । उनले लकडाउनमा केही काम भइरहेपनि चालु आवभित्र सम्पन्न गर्ने काम पुरा नहुने देखिएको हो ।

उनले चाबहिल–साँखुको काम लकडाउनमा ठेकेदारले गर्न खोज्दा स्थानीयले गर्न नदिएको बताए । आगामी आर्थिक वर्षका लागि २ अर्ब बजेटको काम अझै बाँकी रहेको देवकोटाले बताए । उनले आगामी आवमा सबै विस्तारका काम सम्पन्न गर्ने गरी योजना बनाइएको बताए ।

यस्तो छ उपत्यका विस्तारका ९ योजनाको अवस्था
चाबहिल–साँखुः सडक विस्तारमा क्रममा निकै चर्चामा आएको चाबहिल–साँखु सडकखण्ड यही वर्ष २०७६ को चैत्र मसान्तसम्ममा सम्पन्न हुनु पर्ने थियो । उक्त सडकखण्डको साढे ७ किलोमिटर सडक कालोपत्रे भइसकेका छन् । झण्डै ५ किलोमिटरको हाराहारीमा सडक कालोपत्रे गर्न बाँकी रहेको छ ।

चैत ११ गतेबाट लकडाउन सुरु भएसँगै काम ठप्प रहेको छ । देवकोटाका अनुसार चाबहिल साँखुको काम २० दिन लगातार गरे सक्ने सम्भावना रहेको छ तर, फिल्डमा हेर्दा यो सडकखण्डको काम ३ महिनामा पनि सकिने अवस्था छैन ।

चाबहिल–साँखु सडक खण्ड निर्माण २०७१÷७२ सालबाट सुरु भएको हो । सो सडकखण्ड अन्तर्गत लामा÷समान्तार जेभीले ठेक्का लिएको १ किलोमिटर सडक मात्र निर्माण सम्पन्न भएको छ ।

त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकः यो सडक विस्तार अन्तर्गत सरफेस निर्माण सकिसकेको आयोजनाले जनाएको छ । देवकोटाले यस सडकमा फिनिसिङको मात्र काम बाँकी रहेको बताए । कालोपत्रे गर्ने काम सम्पन्न भइसके पनि फुटपात, पेन्टीङ, सडक जेब्राक्रसिङ लगायतका पुर्वाधार बनाउन बाँकी रहेको थियो । सो काम एक÷डेढ महिनामै सकिने भए पनि लकडाउनका कारण रोकिएको देवकोटाले बताए ।

११ किलोमिटर लम्बाई रहेको सो सडकमा ६ सय ८८ घर भत्काउनु पर्नेमा ३ सय ५० मात्र घर भत्काइएको छ भने बाँकी घर नभत्काई यथास्थितिमा निर्माण गर्न लागिएको हो ।

लगनखेल–सातदोबाटो सडकः यो सडक कुल ८ सय मिटर लम्बाईको रहेको छ । सो सडक निर्माणको ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ । घर भत्काउन नदिएपछि रोकिएको सडक विस्तार अब यथास्थितिमा बन्ने भएको हो । उक्त सडक निर्माणको काम अबको १ महिनाभित्र सम्पन्न हुने बताइए पनि लकडाउनका कारण प्रभावित हुन गएको हो ।
सो खण्डमा भत्काउनु पर्ने अवस्थामा रहेका ५५ घर मध्ये १२ घर भत्काउन स्थानियले अवरोध गरेपछि यथास्थितिमा सडक निर्माण हुने भएको हो ।

यी ३ वटा सडकखण्डको निर्माण यही चालु आर्थिक वर्षको अन्तिमसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको थियो । लकडाउनका कारण यी सबै काम प्रभावित हुन गएको हो ।

इमाडोल–लामाटार सडकः ८ किलोमिटर लम्बाई रहेको सो सडक आगामी वर्ष भित्र सम्पन्न हुने आयोजनाले जनाएको छ । सो सडकखण्ड चालु आवमा सम्पन्न हुन असम्भव रहेको हुँदा २०७७ भित्र सक्ने अनुमान गरिएको छ । सो खण्डमा ५६ वटा घर भत्काउनु पर्नेमा १० वटा मात्र घर भत्काइएको छ । अन्य बाँकी रहेका घर नभत्काई यथास्थितिमै सडक विस्तार अघि बढाइने आयोजनाको योजना रहेको छ ।

ढोलाहिटी–सरस्वती कुण्ड सडकः १२ किलोमिटर लम्बाई सो सडकखण्ड विस्तार आगामी आर्थिक वर्षसम्ममा सम्पन्न गरिने भएको छ । उक्त सडकखण्ड विस्तारका क्रममा १ हजार १२० घर भत्काउनु पर्ने भएको थियो । स्थानीयहरुको विरोध र सर्वोच्च अदालतले दिएको स्टेअडरपछि यथास्थितिमा सडक निर्माण अघि बढाइन लागेको हो । यो सडक निर्माण पुरा हुन १ वर्ष लाग्ने अनुमा गरिएको छ ।

कर्मनाशा खोला–गोदावरी कुण्ड सडकः साढे ७ किलोमिटर लम्बाई रहेको यो सडकखण्ड सम्पन्न हुन अझै १ वर्ष लाग्ने आयोजनाले जनाएको छ । यस सडकखण्डमा हालसम्म २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । यो सडक आगामी १ वर्षमा पुरा गर्न नसके छोड्नुपर्ने अवस्था सृजना हुने देवकोटाले बताए । सो खण्डमा ४ सय घर भत्काउनु पर्नेमा एउटै पनि घर भत्काउन सकिएको छैन ।

जोरपाटी–सुन्दीजल सडकः ७ किलोमिटर लम्बाई यो सडक निर्माण आगामी १ वर्षमा पुरा हुने आयोजनाले जनाएको छ । सो खण्डमा ९ सय घर भत्काउनु पर्नेमा एउटै घर भत्काउन सकिएको छैन भने हाल भएकै स्थितिमा निर्माण गरिने भएको छ ।

नख्खुखोला–भैसेपाटी सडकः झण्डै ५ किलोमिटर लम्बाई रहेको सो सडकखण्ड निर्माण अबको १ वर्षमा सम्पन्न हुने भएको छ । हाल ६० प्रतिशत काम सम्पन्न भइसकेको सो सडक निर्माणका क्रममा १ सय ५२ घर भत्काउनु पर्नेमा २५ वटा मात्र घर भत्काइएको छ । अन्य घर नभत्काई सोही अवस्थामा सडक विस्तार गरिने जनाइएको छ ।

पेप्सीकोला–सल्लाघारी सडकः साढे ४ किलोमिटर सो सडकखण्ड निर्माण पुरा हुन अझै १ वर्ष लाग्ने भएको छ । सो खण्डमा ४ सय घर भत्काउनु पर्ने भएकोमा एउटै घर नभत्काई सडक विस्तार अघि बढाइने भएको छ ।

यसरी उपत्यका सडक विस्तार आयोजनाले चालु आवमा सम्पन्न गर्ने भनेको काम सम्पन्न हुन असम्भव भएपछि उपत्यका विस्तार अन्तर्गतका सबै आयोजनाहरु आगामी वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उपत्यका विस्तारमा कुल ९ वटा आयोजनाहरु रहेका छन् । जस मध्ये ३ वटा चालु आवमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । अन्य ६ वटा आगामी वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य रहेको थियो । अब यी सबै आयोजनाहरु आगामी आर्थिक वर्षका लागि सारिने भएको हो ।


Back_to_top