सडक सुरक्षा विषयमा चित्रकला र हाजिरीजवाफ सम्पन्न

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले सडक सुरक्षा विषयक चित्रकला तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

‘सेफ स्टेप, ब्राइट फ्युचर’ अभियान अन्तर्गत बुढानीलकण्ठ नगरपालिकासँगको सहकार्यमा भदौ १४ गते चुनिखेलस्थित श्री नौलिन माध्यमिक विद्यालयमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

प्रतियोगितामा बुढानीलकण्ठ नगरपालिकाका १० वटा माध्यमिक र ५ वटा आधारभूत विद्यालय गरि १५ समुदायिक विद्यालयका ६० जना विद्यार्थी सहभागी भएका थिए ।

सडक सुरक्षा चित्रकला प्रतियोगितामा श्री नौलिन माविकी एलिसा राई प्रथम, श्री बालकुमारी माविकी ज्योति राना मगर द्वितीय र श्री बालकुमारी माविकै किरण विक तृतीय भएका छन् ।

चित्रकला प्रतियोगितामा प्रत्येक विद्यालयका २ जना गरी कुल ३० जना विद्यार्थी सहभागी भएका थिए । तीन घण्टासम्म समयवाधि भएको प्रतियोगितामा विद्यार्थीहरूका चित्रहरूको मूल्याङ्कन विषयवस्तुसँगको सान्दर्भिकता, सिर्जनशीलता तथा मौलिकता, प्राविधिक दक्षता र समग्र प्रभावका आधारमा गरिएको थियो ।

त्यसैगरी, हाजिरीजवाफ प्रतियोगितामा बुढानीलकण्ठ नगरपालिकाका १० वटा माध्यमिक विद्यालयबाट ३० जना विद्यार्थी सहभागी भएका थिए । प्रतियोगिताको प्रारम्भिक चरणमा विद्यालयहरूलाई दुई समूहमा विभाजन गरी समूहगत छनोटबाट उत्कृष्ट चार टोली अन्तिम चरणमा प्रवेश गरेका थिए । अन्तिम चरणमा प्रथम र तृतीय स्थानका लागि बराबर अंक आएपछि टाइब्रेकरमार्फत विजेताको टुंगो लगाइएको थियो ।

प्रतियोगितामा श्री गणेश माध्यमिक विद्यालयका प्रशान्त सिंह ठकुरी, राजन मल्ल र एलीजा शाहीको टोली प्रथम भएको छ भने श्री नौलिन माध्यमिक विद्यालयका गरिमा बुढाथोकी, सपना मगर र रञ्जिता दर्जीको टोली द्वितीय तथा श्री बुढानीलकण्ठ माध्यमिक विद्यालयका बबी माझी, लक्ष्मी तामाङ र मोहित कुँवरको टोली तृतीय भएका छन् ।

विजेताहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । हाजिरीजवाफमा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः रु. ९ हजार, ६ हजा र ३ हजार रुपैयाँ पाए । त्यस्तै, चित्रकलामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो ।


Back_to_top