काठमाडौं । रोयल इनफिल्डले भारतमा आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले पहिलो पटक इलेक्ट्रीक मोटरसाइकल सेग्मेन्टमा प्रवेश गर्दै फ्लाइङ फ्लिया सी ६ नयाँ ईभी मोडल भारतीय बजारमा सार्वजनिक गरेको हो ।
कम्पनीले नयाँ ईभी सबब्रान्ड फ्लाइङ फ्लिया प्लेटफम अन्तर्गत यो मोडल ल्याएको हो । जुन विशेषगरी सहरी प्रयोगलाई लक्षित गरिएको देखिन्छ ।
कम्पनीले फ्लाइङ फ्यिा सी ६ को मूल्य २ लाख ७९ हजार भारु (एक्स शोरूम) तोकेको छ । साथै, मोटरसाइकलको बुकिङ लिन पनि सुरू गरेको छ ।
रोयल इनफिल्डको नयाँ ईभी मोटरसाइकललाई कम्पनीले बास सिस्टम विकल्पमा बजारमा उपलब्ध गराएको हो । बास मार्फत मोटरसाइकल खरिद गर्न चाहानेलाई १ लाख ९९ हजार भारुमै उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले मोटरसाइकलको टेस्टड्राइभ पनि सुरू गरिसकेको छ । मोटरसाइकलको डेलिभरी भने मे महिनाको अन्तिमबाट सुरू हुने बताइएको छ ।
नयाँ सी ६ फ्लिया ग्रीन र स्ट्रोम ब्ल्याक गरी दुई कलर अप्सनमा उपलब्ध छ । यसमा १५.४ किलोवाटको मोटर छ । यसले ६० एनएम टर्क जेनेरेट गर्छ । कम्पनीले मोटरसाइकलमा ३.९१ किलोवाट आवरको ब्याट्रीप्याक दिएको छ । यसमा प्रयोग गरिएको ब्याट्रीले फुल चार्जमा १५४ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।

चार्जिङका लागि मोटरसाइकलमा र्यापिड, स्ट्यान्डर्ड र ट्रिकल मोड दिइएको छ। यसलाई २०-८० सम्म चार्ज हुन करिब ६० मिनेटभन्दा केही बढी समय लाग्नेछ।यसको ब्याट्री र मोटर एकदमै सुरक्षित प्रविधियुक्त छ ।
फ्लाइङ फ्लिया सी ६ रोयल इनफिल्डको डेडिकेटेड ईभी प्लेटफर्ममा निर्माण भएको मोडल हो । यसको फ्रन्टमा ४० को दशकमा मोटरसाइकलमा प्रयोग गरिने ग्रिडर फोर्क, रियरमा मोनोसक सस्पेन्सन सेटअप, अलोय ह्वील, ट्युबलेस टायर, बेल्ट ड्राइभ सिस्टम, डबल डिस्क ब्रेक र रियर स्वीचेबल डबल च्यानल एबीएस रहेको छ ।
जम्मा १२४ किलोग्राम कुल तौल रहेको यो मोटरसाइकलको ग्राउण्ड क्लियरेन्स २०७ एमएम र सिट हाइट ८२३ एमएम छ । यसमा पाँचओटा राइडिङ मोडहरू, ट्रयाक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम पनि दिइएको छ ।
फ्लाइङ फ्लिया सी ६ मा ३.५ इन्चको टीएफटी डिस्प्ले छ । जसमा टचस्क्रीन सिस्टम, स्पीड मिटर, ट्रिप मिटर, रेन्ज, चार्ज स्टेटस लगायतका डिटेल्सहरू हेर्न सकिन्छ । यसमा वाईफाई र फोरजी कनेक्टिभिटी जस्ता स्मार्ट फिचरहरू उपलब्ध छन् ।

साथै, एप सहितको कनेक्टिभिटी सिस्टम, नेभिगेसन, कल एसएमएस अलर्ट, राइड डाटा, भ्वाइस असिस्ट, म्युजिक कन्ट्रोल, ओटीए अपडेट, लाइभ लोकेशन शेयरिङ, रिमोट लक अन्लक, वायरलेस फोन चार्जर, मोटरसाइकल चार्जिङ मोड, किलेस इग्निसन, एन्टि टेम्पर अलर्ट र टर्क ब्यान्ड इन्डिकेटर पनि समावेस छन् ।
फ्लाइङ फ्लिया सी ६ लाई कम्पनीले प्रिमियम इलेक्ट्रीक सेग्मेन्ट लक्षित गर्दै ल्याएको देखिन्छ । आकर्षक डिजाइन, राम्रो रेन्ज र एड्भान्स फिचरका कारण यो बाइक बजारमा बलियो प्रतिस्पर्धी बन्न सक्ने संकेत देखिएको छ ।

