काठमाडौं । भारतमा आक्रमक बजार विस्तारको रणनीति तयार गरेर अगाडि बढेको रोयल इन्फिल्डले ल्याउने नयाँ मोटरसाइकलको तस्विर सार्वजनिक भएको छ । कम्पनीले सन् २०२२ को फेब्रुअरीबाट बजारमा विक्री सुरुगर्ने लक्ष्य बनाएको ‘स्क्रायाम ४११’ फरक डिजाइनमा देखिएको हो ।
रोयल इन्फिल्डले नयाँ मोटरसाइकलको नाम स्क्रायाम ४११ आधिकारीक रुपमा भने राखिसकेको छैन । विभिन्न मिडिया रिपोर्टले भने नयाँ मोटरसाइकलको नाम ‘स्क्रायाम ४११’ नै रहने दाबी गरेका छन् । झट्ट हेर्दा हिमालयन जस्तो देखिएपनि यो मोडल हिमालयनको तुलनामा सस्तो हुने जनाइएको छ ।
तस्विरमा देखिए अनुसार हिमालयमा भएको अग्लो विन्ड स्कीन, स्प्लीट सिट, स्टायडर्ड लगेज र्याक, अग्लो फ्रन्ट ह्वील ग्राहकले नयाँ मोटरसाइकलमा पाउने छैनन् । यसलाई कम्पनीले एड्भेन्चर र क्रुजको फ्यूजनको रुपमा बजारमा ल्याउने देखिन्छ ।
कम्पनीले यसमा रहने इन्जिनको विषयमा पनि केही जानकारी उपलब्ध गराएको छैन । तर, यसमा ४११ सीसी क्षमताको सिंगल सिलिण्डर, एसओएचसी इन्जिनको प्रयोग हुने अनुमान गरिएको छ ।

