नयाँ नयाँ मोडल ल्याउँदै रोयल इनफिल्ड, नेपालमै उत्पादन सुरु हुने

काठमाडौं । प्रिमियम मोटरसाइकल निर्माता कम्पनी रोयल इनफिल्डले घोषणा गरेको हरेक वर्ष ४ नयाँ मोटरसाइकल सार्वजनिक गर्ने योजना पुरा गरेको छ । कम्पनीले पहिलो वर्ष २०२२ मा स्क्रयाम ४११, नयाँ क्लासीक ३५०, हन्टर ३५० र सुपर मेटीअर ६५० सार्वजनिक गरिसकेको छ ।

भारतमा आक्रमक बजार विस्तार गरिरहेको कम्पनीका उत्पादन भने नेपाल आउन पाएका छैनन् । नेपाल सरकारले १५० सीसी माथिका मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएको कारण रोयल इनफिल्डका मोटरसाइकल नेपाल आउन नपाएका हुन् । अहिले भारतमा विक्री भइरहेका मोडलहरु केही समयपछि नेपालमै एसेम्बल हुने छन् । अहिले अल्फा अटोमोटीभ्सले एसेम्बल प्लान्ट बनाइरहेको छ ।

कम्पनीले नयाँ नयाँ मोडल ल्याउन लामो योजना बनाएर काम गरिरहेको छ । यसमा रोयल इनफिल्डको इलेक्ट्रीक लाइनअप समेत समाबेश भएको छ । हालै मात्र इलेक्ट्रीक ०१ को कन्सेप्ट बाहिर आएको थियो । कम्पनीले एड्भेन्चर डिजाइनमा इलेक्ट्रीक हिमालयन ल्याउने अनुमान गरिएको छ ।

केही समय अघि मात्र कम्पनीको हन्टर ३५० मोटरसाइकल सार्वजनिक कार्यक्रममा कम्पनीका सीइओ सिद्धार्थ लालले इलेक्ट्रीक मोटरसाइकल ल्याउने संकेत गरेका थिए । उनका अनुसार अबको ३ देखि ४ वर्ष भित्रमा कम्पनीले इलेक्ट्रीक मोटरसाइकल ल्याउने छ ।

यस्तो हुने छ इलेक्ट्रीक मोडल

हालै बाहिर आएको तस्बीरमा फ्यूचरस्टीक डिजाइनमा तयार भएको निओ रेट्रोको झल्को दिने इलेक्ट्रीक हिमालयन उत्पादनको काम अगाडि बढिरहेको छ । यसमा राउन्ड हेडल्याम्प, अग्लो भाइजर, वायर स्पोक रिम, अगाडि २१ इन्च र पछाडि १८ इन्चको ह्वील दिइएको छ ।

त्यस्तै, यसमा मिड माउन्ट मोटर रहेको छ भने यो मोटरसाइकलको रियरमा मोनोशक सस्पेन्सन देख्न सकिन्छ ।

कम्पनीका सीइओका अनुसार ३ देखि ४ वर्षमा इलेक्ट्रीक मोटरसाइकल बजारमा आउने छ । रोयल इनफिल्ड हिमालयन लामो यात्राको लागि उपयुक्त मोटरसाइकल भएका कारण यसमा लामो रेन्ज दिने ब्याट्री प्रयोग हुने अपेक्षा गर्न सकिन्छ ।

टुरर सेटअपमा आउने अनुमान गरिएको प्रिमियम इलेक्ट्रीक मोडलको मूल्य पनि महंगो अनुमान गर्न सकिन्छ ।


Back_to_top