नयाँ आउने इलेक्ट्रीक एसयूभीका तीन संयोग : समान मूल्य, मोटर र ब्याट्री

काठमाडौं । अहिले बजारमा विद्युतीय गाडी (ईभी) आयात गर्न एकपछि अर्को कम्पनीले प्रतिस्पर्धा गरिरहेका छन् । विशेष गरी चीनमा उत्पादन भएका विद्युतीय गाडीमा सबैभन्दा धेरै प्रतिस्पर्धा चलिरहेको हो ।

सन् २०२० पछि नै एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले ५१/५२ लाख रुपैयाँको आसपासमा मूल्य कायम गरेर जेडएस ईभी बिक्री गर्न थालेको थियो । अहिले जेडएस ईभीको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।

पछिल्ला दिनमा नेपाल आउन थालेका नयाँ एसयूभीले पनि ब्याट्री साइजलाई आधार बनाएर मूल्य ५२ लाख ९९ हजार रुपैयाँलाई बेन्चमार्क बनाउन थालेका छन् । एमजीले लामो समय एकछत्र राज गरेको बजारमा त्यसपछि सेरेस र अहिले आएर नेटा एक्सले प्रवेश गरेको छ ।

बजारमा आएका नयाँ ब्राण्ड सेरेस र नेटा एक्सले पनि ५१ देखि ५२ किलोवाट क्षमताको ब्याट्री भएका मोडलको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ नै तोकेका छन् । यसले मूल्यमा कडा प्रतिस्पर्धा भएको देखिन्छ ।

विशेष गरी गाडीको साइज, बडी डिजाइन र फिचरको आधारमा कारहरूको मूल्य र प्रतिस्पर्धा तय हुने विश्वव्यापी चलनको सट्टा नेपालमा ब्याट्री साइजको आधारमा मूल्य तय हुन थालेको हो । हामीले यहाँ चर्चा गरेका एमजी जेडएस ईभी, सेरेस-थ्री र नेटा एक्समा लगभग समान ब्याट्री छ ।

अझ रमाइलो पक्ष यी गाडीमा भएका मोटर क्षमता हो । गाडी फरक साइजमा भए पनि तीनवटै मोडलमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ । नेपालमा ५० किलोवाटदेखि १०० किलोवाटभन्दा मुनिका गाडीमा एउटै कर लाग्ने भएको कारण समान मोटरमा उपलब्ध भएको हो ।

जेहोस् उपभोक्ताले आफ्नो रोजाइ अनुसारको डिजाइनमा उपलब्ध कार एउटै मूल्यमा छनोट गर्न पाएका छन् । यसको लागि चिनियाँ उत्पादक र आयातकर्तालाई धन्यवाद भन्नै पर्छ ।


Back_to_top