काठमाडौं । नेपाली बजारमा स्कोडा कुशाकको फेसलिफ्ट मोडल सार्वजनिक भएको छ । नेपालका लागि स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लू स्पान्जाले फेसलिफ्ट कुशाक बिक्री सुरू गरेको हो ।
कम्पनीले स्कोडा कुशाक ६ भेरियन्टमा उपलब्ध गराएको छ । कम्पनीले फेसलिफ्ट कुशाकको बेस भेरियन्टको मूल्य ५७ लाख ९० हजार रुपैयाँ र टप भेरियन्टको ९१ लाख ९० हजार रुपैयाँ तोकेको छ ।
फेसलिफ्ट कुशाक डिजाइन परिवर्तनसँगै धेरै फिचरहरू थपिएर आएको छ । यसमा नयाँ फ्रन्ट ग्रिल, नयाँ एलईडी लाइट, नयाँ डिजाइन गरिएको अलोय ह्वील दिइएको छ । स्कोडाको नयाँ ‘मोर्डन सोलिड’ डिजाइनसँग मिल्ने ग्रिलमा आएको छ । एलईडी हेडल्याम्प र डे टाइम रनिङ लाइटमा परिमार्जन पाउन सकिन्छ ।
अगाडिको बम्परलाई थप बोल्ड र प्रिमियम लुक दिन रिडिजाइन गरिएको छ । १७ इन्चको ड्युअल टोन अलोय ह्वील दिइएको यसको पछाडिको टेल ल्याम्प पनि परिवर्तन गरिएको छ ।

यसको इन्टेरियरमा व्यापक परिवर्तन भएको छ । यसमा अपडेटेड इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र प्यानोरामिक सनरुप दिइएको छ । साथै, डुअल कलर एम्बियन्ट लाइटिङ, इलेक्ट्रिक र भेन्टिलेटेड फ्रन्ट सिट, रियर सिटमा मसाज फङ्सन जस्ता प्रिमियम फिचर उपलब्ध छन् ।
कम्पनीले फेसलिफ्ट कुशाक दुई इन्जिन अप्सनमा उपलब्ध गराएको छ । यसमा १.० लिटर टीएसआइ पेट्रोल इन्जिन र १.५ लिटर टीएसआइ इन्जिन छ । सानो इन्जिनले अधिकतम ११५ पीएस पावर र १७८ न्यूटन मिटर टर्क प्रदान गर्छ । यो इन्जिनसँग ६ स्पीड म्यानुअल र ८ स्पीड टर्क कन्भर्टर अटोमेटिक गियरबक्स पाउन सकिन्छ ।
त्यस्तै, ठूलो इन्जिन भएको कुशाकले १५० हर्ष पावर र २५० न्युटन मिटरर टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुअल र ७ स्पीड अटोमेटिक गियर उपलब्ध छ ।
फेसलिफ्ट कुशाक नेपालका लागि उत्कृष्ट एसयूभी बन्न सक्छ । कुशाकले प्रदान गर्ने पावर डेलिभरी, सडकको अवस्था, ग्राउण्ड क्लियरेन्स, साइज र ड्राइभिङ क्यारेक्टरको कारण यो उपयुक्त हुने देखिन्छ ।
यसमा १८८ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स दिइएको छ । जसले स्पीड ब्रेकर, खाल्डाखुल्डी, कच्ची र हाइवेमा ढुक्कसँग चलाउने कन्फिडेन्ट प्रदान गर्छ । ड्राइभिङ डाइनामिक्स, हाई स्पीड स्टेबिलिटी, स्टेयरिङ फिल, प्रिमियम क्याबिन यसका बलिया पक्ष हुन् ।


