काठमाडौं । इन्डो-जापानी ब्राण्ड मारुती सुजुकीले नयाँ एसयूभी ल्याउने भएको छ । कम्पनीले ल्याउने सानो एसयूभीले टाटा पन्च, रेनो काइगर र निसान म्याग्नाइट जस्ता गाडीसँग प्रतिस्पर्धा गर्नेछ ।
मारुती सुजुकीले २०२० मा नै सार्वजनिक गरेको वाइटीबी कन्सेप्ट आगामी जनवरीमा हुने अटो एक्स्पोमा देखाउने भएको हो । साना एसयूभी खोज्ने ग्राहक बढेसँगै आउन लागेको यो एसयूभी कुपे डिजाइन र सुजुकीको हार्टटेक प्ल्याटफर्ममा बन्ने छ ।
यो सेग्मेन्टमा फ्रेन्च कम्पनी सिट्रोनले सि थ्री र हुन्डाईले क्यास्पर नामबाट नयाँ गाडी ल्याउने तयारी गरिरहेका छन् । सिट्रोन सि थ्री भारतमा सार्वजनिक भइसकेको छ ।

मारुती सुजुकीले वाईटीबी कोड नेम दिइएर उत्पादन गरिरहेको एसयूभीमा मारुती सुजुकीले बजारमा ल्याएको नयाँ बलेनो र ब्रेजाको धेरै आधुनिक फिचर रहने छन् ।
कम्पनीले नयाँ एसयूभीमा १.२ लिटर क्षमताको चार सिलिण्डरको पेट्रोल इन्जिन दिने छ । उक्त इन्जिनले ८८ पीएस पावर र ११३ एनएम पिक टर्क उत्सर्जन गर्छ । यो एसयूभीमा ५ स्पीडको म्यानुअल र एएमटी गियरबक्स रहने अनुमान गरिएको छ ।


