नयाँ टियागो ईभी परीक्षणमा

काठमाडौं । टाटा मोटर्सको सर्वाधिक कम मूल्यको बिद्युतीय कार टियागो ईभीको २०२६ मोडल परीक्षणमा देखिएको छ । पूर्ण रुपमा छोपेर परीक्षण भइरहेको टियागो ईभीको डिजाइन र साइजमा कुनै परिवर्तन भएको देखिँदैन ।

भारतीय ईभी लिडर ब्राण्ड टाटाले टियागो ईभीको नयाँ मोडलमा ३५ किलोवाट आवरको ब्याट्री प्रयोग गर्ने रिपोर्ट बाहिर आएको छ । भारतीय मिडियाहरुको दावी मान्ने हो भने यसअघि १९ र २४ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा उपलब्ध टियागो अब २५ र ३५ किलोवाट आवरको ब्याट्रीमा आउने छ । ठूलो ब्याट्रीमा आउने विषयलाई कम्पनीले भने पुस्टी गरिसकेको छैन ।

टाटाले पन्च ईभीमा पनि २५ र ३५ किलोवाट आवरको दुई ब्याट्री अप्सन दिएको छ । त्यही साइजको ब्याट्री टियागो ईभीमा पनि रहने दावी मिडियाहरुले गरेका हुन् ।

यस बाहेक टियागो ईभीमा प्रयोग भएको पुरानो हेडलाइट युनिट परिवर्तन हुनेछ । टेल लाइट पनि नयाँ डिजाइनमा रहने सहजै अनुमान गर्न सकिन्छ ।

टियागो ईभीको बाहिरभन्दा भित्र इन्टेरियरमा ठूलो परिमार्जन हुने अनुमान गर्न सकिन्छ । ड्यासबोर्डको डिजाइनमा परिवर्तन, चालकको लागि दिइएको आमरेस्टको पछाडि एसी भेन्ट, नयाँ र ठूलो साइजको इन्फोटेन्टमेन्ट सिस्टम रहने छ ।

कम्पनीले यसमा रहेको एसी पनि डिजिटल बनाउने छ । नयाँ इन्ट्री लेभल अपग्रेडमा वायरलेस चार्जरदेखि ‘अटो डिमिङ आइआरभीएम’सम्म रहने छ ।

नेपालको सर्वाधिक सफल मध्येको एक

टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले बिक्री गर्दै आएको टियागो ईभी नेपालको लागि सफल मध्येको एक इलेक्ट्रीक मोडल हो । नेपालमा बिक्री सुरु भएदेखि नै सिटी कारको रुपमा धेरैले यसलाई मन पराएका छन् ।

सिप्रदी ट्रेडिङले टप भेरियन्टनै २९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराएको कारण मूल्यको हिसावले पनि यसलाई आकर्षक मानिएको छ । सन् २०२३ को सेप्टेम्बरमा नेपाल आएको टियागो ईभी तीन महिनामै ८२४ युनिट आयात भएको थियो ।

सन् २०२४ मा १०९८ युनिट आयात भएको टियागो ईभी सन् २०२५ मा ३९५ युनिट आएको देखिन्छ । समग्रमा नेपाल आएको दुई वर्षभन्दा केही बढिको समयमा २ हजार ३१७ युनिट टियागो ईभी नेपाल आइसकेको छ ।


Back_to_top