लिटरमै १५ रुपैयाँ बढ्यो डिजेल र पेट्रोलको भाउ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य फेरि बढाएको छ । यसअघि चैत १ गते मूल्य समायोजन गरेको निगमले ११ दिनमै दोस्रो पटक मूल्य वृद्धि गरेको हो ।

निगमले बिहीबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समान प्रतिलिटर १५ रुपैयाँ बढाएको हो ।

मूल्य समायोजनसँगै पेट्रोलको भाउ पहिलो वर्गका लागि प्रतिलिटर १८४.५० रुपैयाँ, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १८७ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, डिजेलको मूल्य बढेसँगै पहिलो वर्गका लागि प्रतिलिटर १६४.५० रुपैयाँ, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६७ रुपैयाँ कायम भएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौं, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।

अमेरिका-इजरायल-इरान बीचको युद्धका कारण विश्व बजारमा कच्चा तेलको मूल्य बढिरहेको छ । पछिल्लो समयको मूल्य वृद्धिलाई प्रक्षेपण गर्दा १५ दिनमै १५ अर्ब रुपैयाँ घाटा हुने देखिएपछि मूल्य बढाउनु परेको निगमले जनाएको छ ।

निगमका अनुसार मार्च १ देखि २४ सम्म नेपालले खरिद गर्ने पेट्रोलको मूल्य प्रतिलिटर ७६ रुपैयाँ र डिजेलको १४३ रुपैयाँ बढेको छ । तर, उपभोक्तको हितलाई मध्येनजर गर्दैै कम मात्रमा मूल्य बढाइएको निगमले जनाएको छ ।

निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।


Back_to_top