नयाँ मोटरसाइकलको मूल्य घट्दा ‘रिकन्डिसन ब्यापारी पीडामा’

काठमाडौं । सरकारले नयाँ बजेट मार्फत मोटरसाइकलमा लाग्ने कर र वार्षिक करमा फेरवदल गरेसँगै २५० सीसी माथिका मोटरसाइकलको मूल्य घटेको छ । कर परिवर्तन भएसँगै नयाँ मोटरसाइकल बिक्रेताले मूल्य पनि घटाउन थालेका छन् ।

सुरुमै रोयल इनफिल्डले आफ्ना दुई नयाँ मोडलको मूल्य अप्रत्याशित रुपमा घटाएपछि रिकन्डिसन बजारमा ठूलै उथलपुथल देख्न सुरु भएको छ । त्यसैगरी बजाज, टारो र क्रसफायरले पनि आफ्ना मोटरसाइकलको मूल्य समायोजन गरिसकेका छन् ।

नयाँ मोटरसाइकलको मूल्य धमाधम घट्न थालेसँगै रिकन्डिशन बजारमा समस्या सृजना भएको रिकन्डिसन ब्यवसाय संचालकहरु बताउन थालेका छन् । रोयल इनफिल्डले ५ लाख मूल्यमा नयाँ मोटरसाइकल सार्वजनिक गरेसँगै अब सेकेन्ड ह्यान्ड क्लासीक ३५० बेन्च नसकिने अवस्था आएको रिकन्डिशन ब्यापारीहरुको भनाई छ ।

‘हामीले ४ लाख ५० हजारसम्म तिरेर २०२१ मोडलको मोटरसाइकल किनेका छौं । अहिले ५ लाखमै नयाँ आउने भयो, त्यो पनि एबीएस, एफआई इन्जिनमा । अब किनेर राखेका पुराना मोटरसाइकलमा घाटा खानुको बिकल्प छैन्’ गणेश इन्टरप्राइजेजका संचालक सुमन उप्रेतीले मेरोअटोसँग भने ।

बालाजुमा एनबी रिकन्डिसन हाउस संचालन गर्दै आएका राजु शाक्य पनि उप्रेतीको भनाईसँग सहमत छन् । उनी भन्छन्, ‘क्रफायर, बजाज, बुलेट सबैको मूल्य घटिरहेको छ । ग्राहकहरु मूल्य अझै घट्छ भनेर अहिले मोटरसाइकल किन्न आउने अवस्था देखिदैन । किन्नै आएपनि हामीले तिरेको मूल्यमा उहाँहरुले किन्नु हुन्न ।’

रिकन्डिसन बजारमा धेरै विक्री हुने क्रसफायर, ड्यूक, बुलेट जस्ता मोटरसाइकलको मूल्य घट्न सुरु भएको कारण घाटामा मोटरसाइकल बिक्री गर्नु पर्ने अवस्था सृजना भएको रिकन्डिशन ब्यापारी बताउँछन् ।

अहिले रिकन्डिशनमा केटीएम ३९०, क्रसफायर, रोयल इनफिल्ड, पल्सर २२० थुप्रिएका देख्न सकिन्छ । ग्राहकहरु मोटरसाइलको मूल्य अझै घट्ने आँकलन गर्दै पर्ख र हेरको अवस्थामा रहेका छन् ।


Back_to_top