चल्तीका ३ इलेक्ट्रीक कार किन्न कति हुनुपर्छ मासिक कमाइ ?

काठमाडौं । यदि तपाईँ गाडी खरिद गर्नको लागि कर्जा सुविधा लिन बैंक जाँदै हुनुहुन्छ भने सबैभन्दा पहिला तपाईँको कर तिरेर मासिक रुपमा गर्ने कमाइ देखाउनु पर्छ । तपाईँको मासिक कमाइलाई आधार बनाएर नै बैंक तथा वित्तिय संस्थाहरुले कर्जा उपलब्ध गराउँछन् ।

नेपाल राष्ट्र बैंकले विद्युतीय कार खरिद गर्न कम्तीमा पनि मूल्यको २० प्रतिशत रकम आफुले हाल्नु पर्ने र बाँकी ८० प्रतिशत रकम बैंक तथा वित्तिय संस्थाबाट कर्जा सुविधा उपलब्ध गराउने बाटो खुल्ला गरिदिएको छ । यहि सर्त अनुसार गाडी किन्न मासिक कमाइ महत्वपूर्ण हुन्छ ।

तपाईँसँग सम्पती छ । विभिन्न करको दायराभन्दा बाहिरको आय छ भने पनि तपाईँले गाडी किन्न बैंकबाट कर्जा सुविधा पाउनु हुन्न । त्यसैले तपाईँले गर्ने कर तिरेको मासिक कमाइ अनुसार कर्जा सुविधा पाउन सकिन्छ ।

मासिक ३० हजार हाराहारी किस्ता तिर्नु पर्ने कार किन्न कम्तीमा पनि तपाईँको मासिक कमाइ ६० हजारभन्दा माथि हुनुपर्छ । यहाँ हामीले ६०/७० हजार मासिक कमाइ भएका मानिसले चढ्न सक्ने तीन चल्तीका इलेक्ट्रीक कारका बारेमा चर्चा गरेका छौं ।

एमजी कोमेट : एमजीले भारतमा उत्पादन गरेको कोमेट ईभी नेपालमा पृथक डिजाइनका कारण राम्रो बिक्री भइरहेको छ । एमजी कोमेट दुई ढोका भएको ४ सिट क्षमताको कार हो ।

टल डिजाइन, कम्प्याक्ट साइज, फिचर लोडेड मोडल भएको कारण आफुलाई अलगै देखाउन चाहने प्रोफेशनल मानिसहरुको रोजाइमा कोमेट पर्दै आएको छ । यसको टप भेरियन्ट किन्न २२ लाख ९९ हजार रुपैयाँ खर्च गर्नुपर्छ ।

बैंक ब्याजदर अत्यन्त कम चलिरहेको अहिलेको समयमा ७.५ प्रतिशत ब्याजदरमा कर्जा पाउन सकिन्छ । ४ लाख ६० हजार रुपैयाँ डाउन पेमेन्ट गरेपछि १८ लाख ३९ हजार रुपैयाँ कर्जा सुविधा पाउन सकिन्छ । उक्त रकम ७ वर्ष भित्र तिर्नेगरी कर्जा लिँदा मासिक २८ हजार २१० रुपैयाँ तिर्दा पुग्छ ।

यस हिसावले मासिक ६० हजार कमाई हुने मानिसले सहजै एमजी कोमेट खरिदको लागि बैंकबाट कर्जा सुविधा पाउँछन् । एमजी कोमेटमा १७ किलोवाट आवरको ब्याट्री र ३० किलोवाटको मोटर छ ।

केई इक्यूट-०४ : चार ढोका भएको सस्तो कार खोज्नेलाई केई इक्यूट-०४ उत्कृष्ट मोडल हुनसक्छ । मूल्यका हिसावले पनि इक्यूट-०४ आकर्षक छ । यसलाई २४ लाख ९६ हजार रुपैयाँ मूल्य तोकेर बिक्री हुँदै आएको छ ।

केई इक्यूट-०४ मा ब्याट्री पनि ठूलो छ । २८ किलोवाट आवरको ब्याट्री र ४० किलोवाटको मोटरले दिने रेन्ज र पावर उत्कृष्ट लाग्छ । माथिकै जस्तो ७.५ प्रतिशत ब्याजदरमा कर्जा लिएर इक्यूट-०४ खरिद गर्ने हो भने सुरुमा डाउन पेमेन्ट वापत मूल्यको २० प्रतिशतले हुन आउने झण्डै ५ लाख रुपैयाँ सुरुमा तिर्नुपर्छ ।

बाँकी १९ लाख ९६ हजार रुपैयाँ कर्जा लिनु पर्छ । कर्जा वापत लिएको रकम ७ वर्षसम्म मासिक ३० हजार ६३० रुपैयाँ हाराहारी तिर्दा पुग्छ । तर, इक्यूट किन्ने मानिसको मासिक आम्दानी ६५ हजार हाराहारी हुनै पर्छ ।

टियागो ईभी : टाटा टियागो ईभी साना कारमा सर्वाधिक बिक्री भएको मोडल हो । टाटाले नेपाल ल्याएर बिक्री गर्दै आएको टियागो ईभी तीन भेरियन्टमा उपलब्ध छ । यसको इन्ट्री भेरियन्टको मूल्य २७ लाख ४९ रुपैयाँ तोकिएको छ । यस मूल्य अनुसार यसलाई किन्ने मानिसले सुरुमा ५ लाख ५० हजार रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ ।

माथिकै जस्तो ब्याजदर र कर्जा अवधि हुँदा टियागो ईभी किन्नेले मासिक ३३ हजार ७३२ रुपैयाँ हाराहारी बुझाउनु पर्छ । त्यो भनेको टियागो ईभी किन्नेको मासिक कमाई ७० हजार रुपैयाँ हाराहारी हुनु पर्छ ।

टाटा टियागो ईभीमा २४ किलोवाट आवरको मोटर र ४९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ ।


Back_to_top