१ अर्ब ७० करोडमा चिनियाँ कम्पनीले पायो तिनाउ सिग्नेचर पुलको ठेक्का

सांकेतिक स्केच ।

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल-गोरुसिंगे-चन्द्रौटा खण्डमा पर्ने तिनाउ नदीमा ‘सिग्नेचर पुल’ निर्माणको ठेक्का चिनियाँ कम्पनी एम/एस आनहुई सिनजियान होल्डिङ ग्रुपले पाएको छ ।

कम्पनीले प्रतिस्पिर्धी ५ कम्पनीलाई पछि पार्दै १ अर्ब ७० करोड ५२ लाख ९५ हजार ५९२ रुपैयाँ ५७ पैसा (भ्याट र पीएससहित)मा उक्त पुल निर्माणको ठेक्का पाएको हो ।

सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका अनुसार उक्त पुल निर्माणका लागि प्राविधिक मूल्यांकनबाट ६ कम्पनी सर्टलिस्टमा परेका थिए । प्राविधिक र आर्थिक मूल्यांकनमा एम/एस आनहुईले सर्वाधिक ९८.१६ अंक पाउँदै ठेक्का हात पारेको हो । विभागले भने यो पुल निर्माणका लागि २ अर्ब लाग्ने अनुमान गरेको थियो ।

महाशाखाका अनुसार यो पुलको ठेक्का डिजाइन एण्ड बिल्ड मोडलमा लगाइएको हो । सो अनुसार अब निर्माण कम्पनीले नै यसको डिजाइन, निर्माण लगायत सम्पूर्ण काम गर्नेछ । विभागले यसअघि नै उक्त पुलको विस्तृत अध्ययन र डिजाइन (आर्किटेक्टरस्ट्रक्चर) डिजाइनको नमूना समेत तयार पारिसकेको छ ।

ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीले अबको ३ वर्ष भित्र (२०८६ भदौ) भित्र पुल निर्माण सम्पन्न गर्नुपर्नेछ । साथै, निर्माण भएपछि ५ वर्षसम्मको मर्मतसम्भारको काम समेत गर्नुपर्नेछ ।

महाशाखाका प्रमुख तथा परियोजना निर्देशक इन्जिनियर अर्जुनप्रसाद अर्यालले हालको यथापत राख्दै त्यसको दाँयाबाँया दुवैतर्फ दुई÷दुई लेनको नयाँ पुल निर्माण हुनेछ । पुलको लम्बाइ २३० देखि २४० मिटरसम्म हुनेछ । साथै, निर्माण कम्पनीले कुल ९८० मिटर पहुँचमार्ग र फूटपाथ समेत निर्माण गर्नुपर्नेछ ।

२०३८ सालमा निर्माण भएको हालको तिनाउ पुल साँघुरो र जीर्ण बन्दै गएपछि विभागले नयाँ पुल निर्माण गर्न लागेको हो । सिग्नेचर पुल निर्माण भएपछि पूर्व-पश्चिम राजमार्गको आवागमन थप सुरक्षित, सहज र व्यवस्थित हुने विश्वास गरिएको छ।

सरकारले गत आवको बजेटमा नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण अघि बढाइने घोषणा गरेको थियो । नारायणी पुलको भने ठेक्का लागि निर्माण काम भइरहेको छ ।


Back_to_top