काठमाडौं । नेपालमा पछिल्लो दिनमा सेडान कारको बिक्री केहि सुस्त रहेको छ । कुनै समय कार भनेकै सेडान थियो । आरमदायी यात्रा र उत्कृष्ट डिजाइनको कारण सेडान कारको बिक्री विश्वभर अत्याधिक हुने गरेको थियो ।
अहिले समय फेरिएको छ । कम फिचर भएका र यात्रा गर्दा केहि कठिन भएपनि सडकको अवस्थासँग मेलखाने भन्दै ग्राहकले सब फोर मिटर एसयूभी र कम्प्याक्ट एसयूभी किनिरहेका छन् । ६० लाखभन्दा कम मूल्यमा पाइने एसयूभीको क्रेज बढेसँगै राम्रा सेडान कारको बिक्री घट्दै गएको हो ।
अहिले बजारमा स्कोडा, हुन्डाई र फक्सवागनका सेडान कार बिक्री हुँदै आएका छन् । यी तीन वटै ब्राण्डका सेडान कारको बिक्री निकै राम्रो रहेको छ । कुनै समय टोयोटा कोरोला, निसान सन्नी र हुन्डाईको प्रिमियम कार सोनाटा जस्ता मोडल बिक्री हुँदै आएकोमा अहिले ति कुनै पनि मोडल नेपालमा बिक्री वितरण हुँदैनन् ।
अहिले नेपालमा सबैभन्दा चल्तीको सेडान कारमा स्कोडा र्यापीड, हुन्डाई भर्ना र फक्सवागन भेन्टो रहेका छन् । यी सबै सेडान कारको टप भेरियन्टको मूल्य लगभग समान रहेको छ ।

हुन्डाईले नेपाली बजारमा भर्नाको दुई भेरियन्ट बिक्री गर्दै आएको छ । कम्पनीले भर्ना एसएक्स र एसएक्स ओ भेरियन्टको बिक्री गर्दै आएको हो । कम्पनीलृ बिक्री गर्दै आएको भर्ना एसएक्स भेरियन्टको मूल्य ४९ लाख ९६ हजार र एसएक्स (ओ) भेरियन्टको ५३ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
स्कोडा र्यापीडको नेपालमा विभिन्न ट भेरियन्टमा बिक्री वितरण हुँदै आएको छ । यसको सुरुवाती मूल्य ३४ लाख ९० हजार रुपैयाँ रहेको भएपनि भेन्टो र भर्नासँग प्रतिस्पर्धा गर्ने दुई भेरियन्ट स्टाइल र मोन्टेकार्लो भेरियन्ट मात्रै हुन् । कम्पनीले बिक्री गर्ने स्टाइल भेरियन्टको मूल्य ५० लाख ९० हजार र मोन्टेकार्लो भेरियन्टको ५१ लाख ९० हजार रुपैयाँ रहेको छ ।
फक्सवागन भेन्टो विभिन्न ८ भेरियन्टमा बिक्री हुँदै आएको भएपनि हाइलाइन म्यानुयल, हाइलाइन अटोमेटिक र हाइलाइन प्लस अटोमेटिक भेरियन्टको प्रतिस्पर्धा यो सेग्मेन्टमा हुन्छ ।

फक्सवागन भेन्टो हाइलाइन भेरियन्टको मूल्य ४९ लाख ४० हजार, हाइलाइन अटोमेटिकको मूल्य ५० लाख ४० हजार र हाइलाइन प्लस अटोमेटिकको मूल्य ५४ लाख ४० हजार रुपैयाँ रहेको छ । यद्यपी भेन्टोको सुरुवाती भेरियन्टको मूल्य ३९ लाख ४० हजार रहेको छ ।
हुन्डाई भर्नामा १.५ लिटर पेट्रोल इन्जिन दिइएको छ भने र्यापीड र भेन्टोमा एउटै १.० लिटर टिएसआई टर्बो इन्जिन दिइएको छ । पावरमा पनि हुन्डाई भर्ना पावरफुल रहेको छ । यसमा रहेको इन्जिनले ११३ बीएच पावर प्रदान गर्छ । भेन्टो र र्यापीडमा रहेको टीएसआई इन्जिनले १०९ बीएच पावर प्रदान गर्छ । यी तीन वटै कारमा ६ स्पीड गियरबक्स उपलब्ध रहेको छ ।

