काठमाडौं । निकै सुस्त गतिमा अगाडि बढेको भारतीय ईभी बजारमा सन् २०२५ मा ७७.०४ प्रतिशतको उछाल आएको छ ।
सन् २०२४ मा केबल १ लाख ९९ हजार ८७५ युनिट विद्युतीय कार बिक्री भएको भारतमा २०२५ मा १ लाख ७६ हजार ८१७ युनिट बिक्री भएको हो ।
अघिल्लो वर्षको तुलनामा ७६ हजार ९४२ युनिट धेरै ईभी बिक्री भएसँगै अब झनै रफ्तारमा विद्युतीय कारको बिक्री बढ्ने अनुमान हुन थालेको छ । अहिले धेरै कम्पनी नयाँ मोडलको रूपमा ईभी ल्याउने तयारीमा लागेका छन् । साथै, चार्जिङ पूर्वाधारमा पनि ठूलो लगानी गर्ने निर्णय कम्पनीहरूले गरेका छन् ।
सन् २०२५ मा टाटाले सबैभन्दा धेरै ईभी बिक्री गरेको छ । टाटाले ७० हजार ४ युनिट ईभी बिक्री गरेको हो । कम्पनीले अघिल्लो वर्षको तुलनामा ८ हजार २०५ युनिट धेरै विद्युतीय कार बिक्री गर्न सफल भएको छ ।
दोस्रो स्थानमा एमजी रहेको छ । एमजीले ५१ हजार ३८७ युनिट ईभी बिक्री गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १३५.५७ प्रतिशतले धेरै हो । कम्पनीले २०२४ मा केबल २१ हजार ८१४ युनिट ईभी बिक्री गरेको थियो ।
सूचीको तेस्रो स्थानमा महिन्द्रा रहेको छ । कम्पनीले ३३ हजार ५१३ युनिट विद्युतीय एसयूभी बिक्री गरेको हो । कम्पनीको बिक्रीमा अघिल्लो वर्षको भन्दा ३६९.४४ प्रतिशतले वृद्धि भएको छ ।
हुन्डाई मोटर्सले क्रेटा ईभीको सहायताले चौथो स्थानमा आफूलाई राख्न सफल भएको छ । हुन्डाईले २०२५ मा ६ हजार ७२६ युनिट इलेक्ट्रीक कार बिक्री गरेको हो ।
सूचीको पाँचौं स्थानमा चिनियाँ ब्राण्ड बीवाइडी छ । कम्पनीले ५ हजार ४०२ युनिट ईभी बिक्री गर्दै पाँचौं स्थानमा रहेको छ ।
यी ब्राण्डका अलावा बीएमडब्लू, किया, मर्सिडिज, सिट्रोन, भिनफास्ट, भोल्भो, टेस्ला लगायतका ब्राण्डले भारतमा विद्युतीय कार बिक्री गर्दै आएका छन् ।

