काठमाडौं । जापानी अटोमोबाइल्स निर्माता टोयोटाले बेबी ल्याण्ड क्रुजर भनेर चर्चा भइरहेको ‘ल्याण्ड क्रुजर एफजे’ मोडल भारतमा उत्पादन गर्ने भएको छ । भारतमा उत्पादन हुने उक्त मोडल सुरूमा भारतमै भने बिक्री नगर्ने भएको हो ।
टोयोटाको महाराष्ट्रमा रहेको प्लाण्टमा उत्पादन हुने ल्याण्ड क्रुजर एफजे मोडल वार्षिक करिब ४० हजार युनिट उत्पादन गर्ने र भारत बाहिर निर्यात गर्ने योजना कम्पनीले बनाएको अटोकार इन्डियाले आफ्नो रिपोर्टमा दाबी गरेको छ ।
जापानी उत्पादक टोयोटाले भारतमा बिक्री नथालेको थुप्रै मोडल नेपालमा बिक्री गर्दै आएको कारण पनि ल्याण्ड क्रुजर एफजे मोडल नेपाल आउने अनुमान गर्न सकिन्छ । टोयोटाको लागि सानो बजार भए पनि नेपाल रणनीतिक महत्वको मानिँदै आएको छ । त्यसैले भारतमा बिक्री नहुँदा पनि हाइलक्स, ल्याण्ड क्रुजर एलसी ३००, एलसी २५०, र्याभफोर हाइब्रिड, कोरोला क्रस, यारिस क्रस जस्ता मोडल नेपालमा बिक्री हुँदै आएको छ ।
टोयोटाको ग्लोबल मोडलहरू नेपालमा बिक्री हुने भएको कारण भारतमा उत्पादन हुने ल्याण्ड क्रुजर एफजे नेपाल आउने सम्भावना धेरै देखिन्छ । अहिले टोयोटाले भारतमा बिक्री गर्ने धेरै मोडल नेपालमा उपलब्ध छैन । यसले पनि टोयोटाको नजरमा भारत र नेपालको बजारमा ठूलो अन्तर प्रष्ट पर्छ ।

ल्याण्ड क्रुजर एफजे मोडलको कन्सेप्ट टोयोटाले २०२५ जापान मोबिलिटी शोमा देखाएको थियो । ४.५७ मिटर लामो एसयूभीलाई अपराइट डिजाइनमा तयार पारिएको छ । यसको प्रोफाइल भने बक्सी देखिन्छ । यसमा छोटो ओभरह्याङ्, स्क्वायर्ड ह्वीलआर्क, बाक्लो सिपिल्लर र एक्सपोज भएको क्लाइडिङ दिने अनुमान गर्न सकिन्छ ।
टोयोटाले एफजे मोडलमा १६३ हर्सपावर र २४५ न्युटन मिटर टर्क जेनेरेट गर्ने २.७ लिटर पेट्रोल इन्जिन दिनेछ । उक्त इन्जिनसँग म्यानुअल र अटोमेटिक गियरबक्स अप्सनमा रहने छ ।
टोयोटाले ल्याण्ड क्रुजर एफजेमा टर्बो पेट्रोल, डिजल र हाइब्रिड इन्जिनमा उपलब्ध हुने अनुमान छ ।

