काठमाडौं । जापानी ब्राण्ड टोयोटाले भारतमा उत्पादन भएको अर्वान क्रुजर इलेक्ट्रीक एसयूभी ११ दिनपछि बजारमा ल्याउने भएको छ । कम्पनीले आगामी जनवरी १९ तारिखमा यसलाई सार्वजनिक गर्न लागेको हो ।
टोयोटाको नयाँ एसयूभी भारतीय बजार सुहाउँदो रहेको कम्पनीको दावी छ । धेरै ठूलो मोटर पावर नभएपनि विभिन्न तीन अप्सन उपभोक्ताले पाउने छन् । यसमा १०६, १२८ र १३५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहनेछ ।
जापानी कार निर्माताले अल ह्वील ड्राइभ भर्सनमा ६१ किलोवाट आवरको ब्याट्री र १३५ किलोवाटको मोटर दिनेछ । उक्त मोटरले अधिकतम टर्क ३०० न्यूटन मिटर प्रदान गर्नेछ ।
नेपाल सरकारले तोकेको कर अनुसार जुन मोटरमा ल्याएपनि उत्तिनै कर लाग्ने भएको कारण टोयोटा अर्वान क्रुजर नेपाल आउने हो भने सबैभन्दा कम मूल्यको अल ह्वील ड्राइभ ईभी मोडल हुने देखिन्छ । नेपाल आउने हो भने यसको मूल्य ८० देखि ९० लाख भित्रै रहनेछ ।
अन्य दुई भेरियन्ट फ्रन्ट ह्वील ड्राइभमा आउने छ । सर्ट रेन्ज भर्सनमा ४९ किलोवाट आवरको ब्याट्रीको साथमा १०६ किलोवाटको मोटर छ, त्यसले १८९ एनएम टर्क प्रदान गर्छ । साथै, अर्को लङ रेन्ज भेरियन्टमा ६१ किलोवाट आवरको ब्याट्री र १२८ किलोवाटको मोटर छ । यसको टर्क पनि १८९ एनएम हुने कम्पनीले जानकारी दिएको छ ।

डाउन हिल एसिस्ट कन्ट्रोल, ट्रायल मोड, स्नो मोडसमेत उपलब्ध हुनेछ । टोयोटाले अर्वान क्रुजर ईभीमा पछिल्ला दिनमा विकास भएका सबै किसिमका सुरक्षा फिचर दिइएको छ । एडास फिचर, एडाप्टीभ क्रुज कन्ट्रोल, लेन डिपार्चर अलर्ट, लेन कीप एसिस्ट, ३६० डिग्री क्यामेरा दिनेछ ।
यसको ड्यास बोर्डमा १०.२५ र १०.१ इन्चको दुई स्कृन रहने छन् । टोयोटाको होमचार्ज बक्ससँगै आउने गाडीमा माइ टोयोटा एप पनि उपलब्ध हुनेछ । जेबीएलको प्रिमियम साउन्ड सिस्टम र भिजन रुफ रहने अर्वान क्रुजर एक उत्कृष्ट इलेक्ट्रीक एसयूभी हुने टोयोटाको दावी छ ।

