काठमाडौं । केही समय अघिदेखि ट्राफिक प्रहरीलाई दिईँदै आएको प्रोत्साहन भत्ता रोकिएको थियो । अब सरकारले ट्राफिक प्रहरी अधिकारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।
बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको बताए ।
मन्त्रिपरिषदरले ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका, २०७५ स्वीकृत भएको हो । निर्देशिका अनुसार ट्राफिक प्रहरीमा कार्यरत सिपाही र हवल्दारले ४० प्रतिशतसम्म भत्ता पाउनेछन् ।
प्रहरी नायब निरीक्षक (सई) र प्रहरी सहायक निरीक्षक (असई) ले २० प्रतिशत भत्ता पाउने छन् भने प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी नायब उपरीक्षक (डीएसपी) ले १० प्रतिशत भत्ता पाउनेछन् ।
उनीहरुले आफ्नो न्यूनतम तलब अनुसार भत्ता पाउने छन् । सरकारले भत्ता बन्द गरेसंगै ट्राफिक प्रहरीको चेकिङ पनि सुस्ताएको थियो । अब प्रोत्साहन भत्ता पाउने भएसँगै प्रहरीको चेकिङ बढ्ने छ ।


