स्कुटरमा एनटर्क नामै काफी, किन कुर्ने १५० सीसीको एनटर्क ?

काठमाडौं । नेपाल स्पोर्टी स्कुटरको बजार हिस्सा बढाउनमा टीभीएस एनटर्क १२५ को भूमिका महत्वपूर्ण रह्यो । बजारमा प्रवेश गरेदेखि अहिलेसम्म निरन्तर राम्रो बिक्री पाइरहेको एनटर्क बजार परिवर्तन गर्ने मोडल बनेको थियो ।

टीभीएस एनटर्क १२५ ले नेपालमा स्कुटर बजारलाई नै एक स्तर माथि उकालेको भन्दा फरक पर्दैन । परम्परागत कम्युटर स्कुटरको अवधारणाभन्दा फरक डिजाइन, पर्फमेन्स र फिचरका कारण यसले नेपाली युवामाझ छुट्टै पहिचान बनाउन सफल भएको थियो ।

टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले एनटर्क १२५ को सफलतापछि भारतमा बिक्री सुरू भइसकेको एनटर्क १५० नेपाल ल्याएको छ । हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ देखाइएको एनटर्क १५० आगामी दशैं अगाडि नै बिक्री सुरू हुने बताइएको छ ।

मूल्यका हिसाबले एनटर्क १५० स्कुटर ४ लाख रुपैयाँभन्दा कमै आउने अनुमान गरिएको छ । तर, आधिकारिक बिक्रेताले यसको मूल्यका विषयमा कुनै आधिकारिक जानकारी दिएको छैन ।

यस्तोमा धेरैको मनमा आउने एउटै प्रश्न हुनसक्छ, के एनटर्क १५० ले एनटर्क १२५ ले पाएको सफलतालाई दोहोर्याउन सक्ला ?

किन सफल भयो एनटर्क १२५

एनटर्क १५० को कुरा गर्नुभन्दा पहिला एनटर्क १२५ को किन सफल भएको थियो भन्ने हेर्नुपर्छ । खासगरी, आक्रामक डिजाइन, युवामैत्री पर्फमेन्स र आधुनिक फिचरकै कारण धेरै युवाले एनटर्क १२५ किनेका थिए ।

आफ्नो पुरानो लिगेसीलाई टीभीएसले एनटर्क १५० मार्फत दोहोर्याउन चाहेको देखिन्छ । आफ्नो स्पोर्टी र स्मार्ट पहिचानलाई एनटर्क १५० ले थप बलियो बनाउन खोजेको हो । जुन उसको डिजाइनमै झल्किन्छ ।

एनटर्क १५० मा १४९.७ सीसीको सिंगल सिलिन्डर इन्जिन उपलब्ध छ । यसले १३.२ पीएस पावर र १४.२ एनएम टर्क जेनेरेट गर्छ । टीभीएसका अनुसार यसमा ३ भल्भ र ओथ्रसी प्रविधिको प्रयोग गरिएको छ ।

ठूलो इन्जिन र बढी पावरका कारण एनटर्क १२५ का ग्राहकलाई आफ्नै ब्रान्डभित्र अपग्रेड हुने अवसर पनि एनटर्क १५० ले दिनेछ ।

एनटर्कको बलियो उपस्थितिको फाइदा

नेपालमा एनटर्कको बलियो उपस्थिति नै एनटर्क १५० का लागि सबैभन्दा बलियो मार्केटिङ टुल्स हो । नयाँ ब्राण्डका प्रिमियम र पर्फमेन्स मोडल आउँदा ठूलो चुनौती ग्राहकको विश्वास जित्नु हो । तर, टीभीएस र एनटर्कले त्यो विश्वास पहिल्यै जितिसकेको छ ।

एनटर्क १२५ चलाइरहेका ग्राहकले थप पावर, ठूलो इन्जिन, स्पोर्टी लुक्स र प्रिमियम अनुभव खोजिरहेका छन् भने एनटर्क १५० उनीहरूका लागि स्वाभाविक अपग्रेड बन्न सक्ने देखिन्छ ।

बढ्दो पर्फमेन्स मोडलको माग

युवा ग्राहकहरू स्कुटरमा पनि पर्फमेन्स खोज्दैछन् । उनीब्राण्ड कार तथा मोटरसाइकलमा जस्तै स्कुटरमा पनि पावर, एक्सेलेरेसन र लामो दूरी यात्रा गर्न सक्ने क्षमता खोज्छन् ।

एनटर्क १५० को ठूलो इन्जिन र बढी पावरले यसलाई सहरी कम्युटिङमा मात्र नभई लामो दूरीको हाइवे यात्रामा समेत ग्राहकलाई आकर्षित गर्न सक्छ ।

मूल्य नै बन्न सक्छ निर्णायक

एनटर्क नेपाली ग्राहकलाई नयाँ नाम होइन । त्यसैले कम्पनीले नयाँ स्कुटरलाई छुट्टै ब्रान्ड स्थापित गर्नुपर्ने चुनौती छैन । तर, अहिले नेपाली बजारमा मूल्यलाई आधार बनाएर सवारी छनोट गर्ने ग्राहकको संख्या बढिरहेको छ ।

यस्तो अवस्थामा एनटर्क १५० को मूल्य यसको बजार सफलताका लागि सबैभन्दा महत्वपूर्ण पक्ष बन्न सक्छ । जगदम्बा मोटर्सले यसलाई करिब ३ लाख ६० हजारदेखि ४ लाख रुपैयाँको बीचमा बजारमा ल्याउन सक्ने अनुमान छ । कम्पनीले जति प्रतिस्पर्धी मूल्यमा एनटर्क १५० बिक्री थाल्छ, त्यति नै यसले बजारमा पकड जमाउन सक्ने देखिन्छ ।

टीभीएसको बलियो ब्राण्ड पहिचान, ठूलो इन्जिन र एनटर्कप्रतिको ग्राहक विश्वास हुँदाहुँदै पनि एनटर्क १५० को वास्तविक सफलता यसले कायम गर्ने मूल्य, बजार पोजिसनिङ र ग्राहकले पाउने मूल्यअनुसारको अनुभवले निर्धारण गर्नेछ ।


Back_to_top