काठमाडौं । पछिल्लो समय नेपाली अटोमोबाइल बजारमा अफर ल्याउने होडबाजी नै चलेको छ । सवारी बिक्रेताहरूले ग्राहक आकर्षित गर्न हरेक चाडपर्व तथा विशेष अवसरहरूमा आकर्षक अफर ल्याउने गरेका हुन् ।
अहिले दुईपाँग्रे सवारी बिक्रेताहरूले विवाहको सिजन तथा भ्यालेन्टाइन डेको अवसरमा आकर्षक अफर ल्याएका छन् । नेपालमा स्थापित भएका बजाज, टीभीएस, यामाहा, हिरो, होन्डा लगायत ठूला ब्राण्डले नगद छुट, क्यासब्याक, फाइनान्स सुविधा, गिफ्ट ह्याम्पर र सुन जित्नेसम्मका अफर ल्याएका हुन् ।
बजारमा बढ्दो प्रतिस्पर्धाबीच कम्पनीहरूले ग्राहकलाई न्यून डाउनपेमेन्ट, सजिलो किस्ताबन्दी र झन्झटरहित कागजी प्रक्रियामार्फत मोटरसाइकल/स्कुटर खरिद गर्न सक्ने अफर दिएका हुुन् । ग्राहकले आफ्नो आवश्यकता र बजेट अनुसार मोटरसाइकल तथा स्कुटर खरिद गरी अफरको फाइदा लिन सक्ने छन् ।
यस्ता छन् ब्राण्ड अनुसारको अफरहरू
हिरो
नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले ‘जीवन भरको साथ हिरोको विश्वास’ नामक अफर ल्याएको छ । कम्पनीले नयाँ सम्बन्ध, नयाँ सपना र भरपर्दो यात्राको सुरूवात गर्नेहरूलाई लक्षित गर्दै यस योजना सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार ग्राहकले हिरोको मोटरसाइकल तथा स्कुटरको खरिदमा ७ हजार नगद रुपैयाँ स्योरसट क्यास छुट पाउने छन् । यस योजनाले पहिलोपटक बाइक वा स्कुटर खरिद गर्ने ग्राहकलाई विशेष राहत दिने कम्पनीले जनाएको छ ।
बजाज
बजाजको मोटरसाइकलमा ‘भरपर्दो सहयात्रीसँग नयाँ जीवनको सुरूवात’ नामक अफर संचालन भइरहेको छ । बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ सोच, नयाँ संकल्प, नयाँ जिम्मेवारी सन्देशसहित आफ्ना ग्राहकलाई लक्षित गर्दै पक्का नगद छुट योजना ल्याएको हो ।
यस अफरमा बजाजका जुनसुकै मोडल खरिद गर्दा ग्राहकले ७ हजार नगद रुपैयाँ सुनिश्चित रूपमा छुट पाउने छन् । सजिलो खरिद प्रक्रिया दैनिक प्रयोगका लागि भरपर्दो माइलेज दिने र टिकाउ मोडल भएकाले कम्पनीले यस अफरलाई पारिवारिक र व्यक्तिगत प्रयोगका लागि ‘स्मार्ट च्वाइस’ का रूपमा प्रस्तुत गरेको हो ।
यामाहा
यामाहाले लभ इन सिन्क भ्यालेन्टाइन स्पेसलका रूपमा भ्यालेन्टाइन सप्ताहलाई लक्षित गर्दै ‘मायासँग मायाको यात्रा’ नामक विशेष क्याम्पेन संचालन गरिरहेको छ ।
यस अफरमा ग्राहकले यामाहाको मोटरसाइकल तथा स्कुटर किन्दा आकर्षक भ्यालेन्टाइन गिफ्टहरू र लक्की ड्र मार्फत अन्य निकै सरप्राइज गिफ्ट ह्याम्पर पाउने छन् । एमएडब्लू राइड्सले यो अफर फ्रेब्रुअरी ७ देखि १४ तारिकसम्मका लागि संचालनमा ल्याएको हो ।
शोरुम भिजिट गर्ने ग्राहकलाई समेत गिफ्ट प्रदान गर्ने यामाहाले यो योजना विशेषगरी युवा जोडी र लाइफस्टाइल ग्राहकलाई लक्षित गरेको जनाएको छ ।
होन्डा
होन्डा नेपालले ‘मायाको सफरलाई नयाँ गति’ नामक योजना ल्याएको छ । कम्पनीले यस अफरमा होन्डाको बाइक तथा स्कुटरको खरिदमा क्यासब्याक र फाइनान्स सुविधा दिने जनाएको हो ।
‘ होन्डा छ भने, सफर नै फरक छ’ भन्ने नारासहित स्याकार ट्रेडिङ कम्पनीले ल्याएको यो अफरमा ग्राहकले क्यासब्याकका रूपमा ५ हजार नगद छुट् पाउने छन् ।
होन्डाको स्कुटर र कम्युटर बाइक सेग्मेन्टलाई लक्षित गरी ल्याइएको यो योजना दैनिक प्रयोगकर्तामाझ लोकप्रिय हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । यसमा होन्डा इजी फाइनान्स सुविधा पनि पाइन्छ ।
टीभीएस
टीभीएसले भने ग्राहकलाई अझै आकर्षित गर्न ‘सुनको सगुन’ योजना सार्वजनिक गरेको छ । टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ल्याएको यो योजना अन्तर्गत ग्राहकले सुनका साथै नगद रकम जित्ने अवसर पाउने छन् ।
यो अफरमा टीभीएसको मोटरसाइकल वा स्कुटर खरिद गर्दा ग्राहकले हरेक दिन सुनको सिक्कासँगै १ लाख रुपैयाँसम्मको नगद छुट जित्न सक्ने मौका रहेको छ ।
यी सबै कम्पनीहरूले किस्ता बन्दीमा मोटरसाइकल तथा स्कुटर खरिद गर्न ग्राहकको नागरिकता र ड्राइभिङ लाइसेन्समात्रै भए पुग्ने जानकारी दिएका छन् ।
यसमा बिजुली, खानेपानीको बिल, इन्कम सोर्स र ग्यारेन्टरको आवश्यक पर्दैन । यी सबै कम्पनीहरूले मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकहरूलाई बिना झन्झट सहजै ऋण दिन्छन् । केही कम्पनीले सेवा शुल्क समेत लिँदैनन् ।
साथै, सबै कम्पनीहरूले ग्राहकलाई सहजता प्रदान गर्ने हिसाबले एक्सचेन्ज सुविधा पनि दिइरहेका छन् । एक्सचेन्ज अफरमा आकर्षक मूल्यांकन पाइनेछ ।
कम डाउनपेमेन्टमै सवारी खरिद, नगद बचत, सजिलो फाइनान्स, अतिरिक्त उपहार तथा इनाम, पुरानो बाइक साटफेर सुविधाले दुईपांग्रे खरिदलाई अझ सहज र पहुँचयोग्य बनाएको छ ।

