तत्काल नेपाल आउने ३ इलेक्ट्रीक कार

काठमाडौं । चैत २१ गतेबाट सवारी साधन आयात गर्ने कम्पनीलाई प्रतितपत्र खोल्न बन्द गरेका बैंक तथा वित्तिय संस्थाले सरकारी निर्णय अनुसार अब विद्युतीय गाडीको लागि एलसी खोल्ने भएका छन् ।

सरकारले सबै किसिमका जीप/कार/भ्यानको एलसी असार मसान्तसम्म खोल्न प्रतिबन्ध लगाएसँगै विद्युतीय गाडीको एलसी भने आधिकारीक रुपमा खुल्ला भएको छ । बैंकले नयाँ गाडी मगाउन कर्जा दिने भएसँगै विभिन्न कम्पनीले नयाँ इलेक्ट्रीक कार नेपाल ल्याउने भएका छन् ।

कम्पनीहरुले ल्याउने तयारी गरेको कारहरु २२ लाखदेखि १ करोड १६ लाख रुपैयाँसम्म पर्ने साना कारदेखि एसयूभी रहेका छन् । यस वीचमा हेनरी, किया र बीवाइडीले नयाँ गाडी बजारमा ल्याउने तयारी गरेका छन् । यी सबै गाडी अर्को यहि आर्थिक वर्षमा बजारमा आउने छ ।

हेनरी ‘टाइगर’

पायोनियर वर्ल्ड वाइड प्रालिले नेपाल ल्याएको चिनियाँ ब्राण्ड ‘हेनरी’को ‘टाइगर मोडल बी’को केही यूनिट नेपाल आइसकेको छ । कम्पनी यसको टेष्ट ड्राइभ समेत गराइरहेको छ ।

सहरी क्षेत्रको लागि उपयुक्त यो सानो कारमा २४४० एमएमको ह्वीलवेस र १६५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । यसको अन्य साइज लगभग मारुती अल्टो जत्रै रहेको छ ।

कम्पनीको अनुसार एक पटकको फुल चार्जमा १८५ किलोमिटर रेन्ज दिने यो कारमा १६.५ किलोवाट आवरको लिथियम आयोन व्याट्री प्याक दिइएको छ । अधिकतम ३५ किलोवाट क्षमताको मोटर दिइएको यो इभीमा रियर ह्वील ड्राइभ सिस्टम उपलब्ध रहेको छ ।

यसको मूल्य समेत निर्धारण भइसकेको छ । कम्पनीले २२ लाख रुपैयाँ मूल्य निर्धारण गरेर बुकिङ लिइरहेको छ । कम्पनीले यसको ब्याट्रीमा ५ वर्ष वा ६० हजार किलोमिटर र मोटर लगायतका ब्याट्री म्यानेजमेन्ट सिस्टममा ३ वर्ष वा ६० हजार किलोमिटरको बारेन्टी प्रदान गरेको छ ।

बीवाइडी एटो थ्री

बीवाइडीको आधिकारीक विक्रेता साइमेक्स इंकले चाँडै इलेक्ट्रीक एसयूभी एटो–३ नेपालमा विक्री सुरु गर्ने तयारी गरेको छ । एटो–३ साइजको आधारमा क्रेटा, सेल्टोस, टाइगुन र कुशकभन्दा ठूलो रहेको छ । यसको ह्वीलवेस पनि २७२० एमएम छ ।

अष्ट्रेलियन बजारमा बीवाइडीले विक्री सुरु गरेको स्टायडर्ड भेरियन्टमा ५०.१ र लामो रेन्ज भेरियन्टमा ६०.४ किलोवाट आवरको ब्लेड ब्याट्री नेपाल आउने मोडलमा पनि उपलब्ध हुनेछ । यसमा कम्पनीले १५० किलोवाट क्षमताको मोटर दिएको छ । डब्लूएलटीपीले यी दुबैको रेन्ज क्रमशः ३२० र ४२० किलोमिटर प्रमाणित भएको छ । एनइडीसीको अनुसार भने क्रमशः ४०० र ४८० किमि प्रमाणित भएको छ ।

सुरक्षाको लागि यो एसयूभीमा अगाडि भ्यान्टीलेटड डिस्क र पछाडि डिस्क ब्रेक दिइएको छ । यसका साथै ७ वटा एयरब्याग, इलेक्ट्रीक पार्किङ ब्रेक, एबीएस, इएसपी, ट्रयाक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, इन्टिलिजेन्ट क्रुज कन्ट्रोल, अटोमेटीक ब्रेकिङ, फ्रन्ट कुलिजन वार्निङ, डोर ओप्पन वार्निङ, लेन डिपार्चर वार्निङ, लेन किप एसिस्ट, क्रस ट्राफिक अलर्ट जस्ता फिचर दिइएको छ ।

यसको इन्टेरियर पनि निकै आकर्षक रहेको छ । फिटनेस र म्यूजिकको थिममा तयार भएको इन्टेरियरले जो कसैलाई लोभ्याउने छ ।

मल्टीफङ्सनल स्टेरियङ ह्वील, ५ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, लेदर सिट, फोल्डिङ रियर सिट, ६ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, आइएसओ फिक्स चाइल्ड सिट, १२.८ इन्चको रोटेड इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस चार्जर, किलेस इन्ट्री, ८ वटा स्पीकर पाउन सकिन्छ । यसको मूल्य ६० देखि ६५ लाखको बीचमा रहने अनुमान गर्न सकिन्छ ।

किया इभी-६

कियाको आधिकारीक वितरक कन्टिनेन्टल ट्रेडिङ आफ्नो वेभसाइटमा लिष्टिङ गरेर इभी-६ नेपाल आउन लागेको जनाउ यसअघि नै दिएको हो । विश्व बजारमा नै चर्चामा रहेको इभी सिक्स हुन्डाई मोटर ग्रुपको ‘इ-जीएमपी’ (इलेक्ट्रीक-ग्लोबल मोडुलर प्लेटफर्म) मा बनेको यो क्रसओभर एसयूभी हो ।

उत्कृष्ट पर्फमेन्स, फ्रिडम र भविष्य उन्मुख डिजाइनको लागि प्रसिद्ध इभी–६ लाई विशेषत युवा लक्षित डिजाइनमा तयार गरिएको छ । यसमा १९ इन्चको अलोय ह्वील, १२.३ इन्चको कर्भि ड्राइभर इन्फर्मेशन डिस्प्ले र १२.३ इन्चकै इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ ।

कियाले इभी-६ मा निकै ठूलो व्याट्री दिएको छ । यसको जिटी लाइन भेरियन्टमा ७७.४ किलोवाट आवरको व्याट्री दिएको छ । यसले एक पटकको फुल चार्जमा ५०५ किलोमिटर रेन्ज दिने कम्पनीले दावी गरेको छ । निकै पावर फुल २३९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको यो कारलाई ३५० किलोवाट क्षमताको चार्जरले १० देखि ८० प्रतिशत चार्ज गर्न केबल १८ मिनेट मात्रै लगाउने छ ।

कियाले इभी-६ लाई उत्कृष्ट बनाउन अटोमेटीक डिफग सिस्टम, इलेक्ट्रीक पावर विन्डो, अटो डिमिङ रियर भ्यू मिरर, ड्यूल जोन अटोमेटीक एसी, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड, हिटेड सिट, हिटेड स्टेरिङ ह्वील, स्मार्ट क्रुज कन्ट्रोल, प्याडल सिफ्टर, फरक ड्राइभ मोड, टिल्ट र टेलिस्कोपीक एड्जस्टेवल स्टेरिङ ह्वील जस्ता फिचर प्रदान गरेको छ ।

इभी-६ मा सुरक्षाको लागि एबीएस, ड्राइभर एटेन्सन वार्निङ, इलेक्ट्रोनिक्स स्टेविलिटी कन्ट्रोल, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, हाइवे ड्राइभ एसिस्ट, इन्टेलिजेन्ट स्पीड लिमिट, टायर प्रेसर मोनिटर, मल्टी कोलुजन ब्रेक एसिस्ट जस्ता उपयोगी फिचर पाउन सकिन्छ । कम्पनीले यसको मूल्यको विषयमा कुनै जानकारी नदिए पनि करिब १ करोड १६ लाख हाराहारी मूल्य पर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top