४ नयाँ मोडलका कार नेपाल आउँदै, कम मूल्य र डिजाइनको कारण चर्चामा

काठमाडौं । सन् २०२१ मा उत्पादन भएका सवारी साधन अधिकांश कम्पनीले नेपाल ल्याउन सुरु गरेका छन् । साथै, भारतमा २०२० को अन्त्यतिर र २०२१ को सुरुवातमा बजारमा आएका नयाँ मोडलका गाडी नेपाल आउने क्रममा रहेका छन् ।

महिन्द्राले भारतमा करिब ६ महिना अघि सार्वजनिक गरेको अफरोड एसयूभी थार, निसानले डिसेम्बर २०२०मा सार्वजनिक गरेको सब फोर मिटर एसयूभी म्याग्नाइट, हुन्डाईले अक्टोबरमा बजारमा ल्याएको नयाँ जेनेरेशन आई २० र रेनोले केहि दिनअघि भारतमा सार्वजनिक गरेको आफ्नो पहिलो सब फोर मिटर एसयूभी काइगर नेपाल आउने क्रममा रहेका छन् ।

यी गाडी नेपाल आएसँगै सन् २०२१ मा नयाँ गाडी खोज्ने ग्राहकको लागि नेपालमा थप ४ मोडल ग्राहकले पाउने छन् । ३० लाखदेखि ५० लाखसम्मको मूल्यमा आउने यी कार डिजाइनका कारण पनि धेरै चर्चामा रहेका छन् ।

निसान म्याग्नाइट

निसानको निकै चर्चामा रहेको म्याग्नाइट भोलिबाट विक्री सुरु हुँदैछ । निसानको आधिकारीक वितरक पायोनियर मोटोकर्पले भोलिबाट निसान म्याग्नाइटको विक्री सुरु गर्न लागेको हो । कम्पनीले २९ लाख ४४ हजार सुरुवाती मूल्य कायम गरेर विक्री गर्न लगेको म्याग्नाइट अहिले भारतमा निकै चर्चा कमाइरहेको सब फोर मिटर एसयूभी हो ।

१.० लिटर नेचुरल एस्पायर्ड र १.० लिटर टर्बो इन्जिनमा आउने म्याग्नाइट बजारमा उपलब्ध सब फोर मिटर एसयूभीमा सबैभन्दा कम मूल्यको एसयूभी हुने छ ।

म्याग्नाइटमा अन्य सब फोर मिटर एसयूभीमा हुने अधिकांश फिचर ग्राहकले पाउने र मूल्यपनि अन्यको तुलनामा निकै सस्तो रहने भएकाले यसको खास चर्चा हुँदै आएको हो ।

महिन्द्रा थार

महिन्द्रा थार अफरोड एसयूभीको नामले चिनिने मोडल हो । तर, नयाँ जेनेरेशन थार अफरोड र अनरोड दुबैको लागि उपयुक्त डिजाइनमा आएकै कारण चर्चा बढी भइरहेको हो ।

कम्पनीले यसअघि डिजेल इन्जिनमा मात्र बजारमा ल्याएको थारलाई यस पटक पेट्रोल इन्जिनमा पनि ल्याएको छ । त्यहि कारण यसको विक्री भारतमा उच्च रहेको छ । भारतमा उच्च मागकै कारण तिहारपछि नेपाल ल्याउन प्रयास भएपनि थार आउन सकिरहेको थिएन । अब कम्पनीले चैतमा यसलाई नेपाल ल्याउने तयारी गरिरहेको छ ।

थारमा २.० लिटर पेट्रोल र २.२ लिटर डिजेल इन्जिन प्रयोग भएको छ । साथै, फोर वाइ फोर सिस्टमले थारलाई जस्तो सुकै बाटोको लागि उपयुक्त बनाएको छ ।

हुन्डाई इलाइट आई २०

प्रिमियम ह्याचव्याक सेग्मेन्टमा निकै चर्चित इलाइट आई २० निकै सफल एसयूभी हो । यसको नयाँ जेनेरेशन मोडल यूरोपियन स्पेकमा आधारित रहेकाले यसको चर्चा पहिलेभन्दा बढी भइरहेको छ ।

हुन्डाई आई २० नेपालमा पेट्रोल इन्जिनमा मात्रै आउने सम्भावना धेरै रहेको छ । भारतमा यसलाई १.० लिटर टर्बो पेट्रोल र १.२ लिटर नेचुरल एस्पायर्ड इन्जिनमा उपलब्ध रहेको छ । संभवत नयाँ वर्ष २०७८ को नजिकमा यो कार नेपाली बजारमा विक्री सुरु हुने छ ।

रेनो काइगर

रेनोले भारतमा उत्पादन गरेको पहिलो सव फोर मिटर एसयूभी काइगर डिजाइनको कारण अहिले चर्चामा रहेको छ । भारतमा केहि दिनअघि सार्वजनिक भएको काइगर संभवत बैशाखमा नेपाल आउने छ ।

निसान म्याग्नाइटकै जस्तो १.० लिटर नेचुरल एस्पायर्ड र १.० लिटर टर्बो इन्जिनमा उपलब्ध हुने काइगर पनि कम मूल्यको कारण धेरैको रोजाइमा पर्ने अनुमान गरिएको छ ।


Back_to_top