काठमाडौं । नेपालमा विक्री हुँदै आएका ५ एसयूभीमा चाँडै अपग्रेड हुने भएका छन् । विशेषगरी बजारमा राम्रो प्रभाव छाड्न सफल हुन्डाई क्रेटा, किया सेल्टोस, टाटा सफारी, टाटा एच फाइभ र एमजी हेक्टरमा परिमार्जन हुन लागेको हो ।
नेपाली बजारमा सबैभन्दा सफल एसयूभी हुन्डाई क्रेटा हो । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सन् २०१६ देखि निरन्तर सफलताको स्वाद चाखिरहेको हुन्डाई क्रेटाको नयाँ जेनेरेशन मोडल सन् २०२० मा आएको थियो । कम्पनीले सन् २०२३ को सुरुवातमा नै क्रेटाको फेसलिफ्ट मोडल ल्याउने तयारी थालेको छ ।
हुन्डाईले फेसलिफ्ट क्रेटामा नयाँ एक्सटेरियर डिजाइनको साथै इन्टेरियरमा पनि ब्यापक परिवर्तन गर्ने अनुमान गरिएको छ । त्यसैगरी पहिलेको तुलनामा थप सुरक्षा फिचरको साथ आउने नयाँ क्रेटामा एडीएएस सेफ्टी फिचर रहने छ ।
कियाले सन् २०१९ बाट भारतमा उत्पादन सुरु गरेको सेल्टोसमा केही पटक ग्राफिक्स परिवर्तन गरेपनि अन्य परिवर्तन अहिलेसम्म गरेको छैन । सम्भवत कियाले पनि आगामी जनवरीमा सेल्टोसको फेसलिफ्ट मोडल बजारमा उतार्ने छ । कियाले सेल्टोसमा एडीएएस, ३६० डिग्री क्यामेरा लगायतका फिचर दिने अनुमान गरिएको छ । साथै, सेल्टोसको डिजाइनमा पनि केही परिवर्तन समेत देख्न पाइने छ ।
टाटाले नेपालमा एच फाइभको नामबाट विक्री गर्दै आएको कम्प्याक्ट एसयूभीको पनि फेसलिफ्ट मोडल आउने भएको छ । आगामी जनवरी २०२३ मा आयोजना हुने अटो एक्स्पोमा टाटाले एच फाइभको फेसलिफ्ट मोडल सार्वजनिक गर्नेछ ।
कम्पनीले यसको डिजाइन, क्याविन र थुप्रै फिचर परिवर्तन गर्ने अनुमान गरिएको छ । सुरक्षाको लागि एडीएएस फिचर भित्र अटोमेटीक ट्रयाक्सन कन्ट्रोल, एडप्टीभ क्रुज कन्ट्रोल, क्लोजिन मेटिगेशन सिस्टम, लेन डिपार्चर वार्निङ सिस्टम, इलेक्ट्रोनिक्स स्टेविलिटी कन्ट्रोल, ब्लाइन्ड स्पर्ट एसिस्ट लगायतका पाउन सकिन्छ ।
एमजीले भारतमा उत्पादन गरेको पहिलो एसयूभी हेक्टरको फेसलिफ्ट पनि चाँडै बजारमा आउने छ । कम्पनीले यसको क्याविनलाई थप प्रिमियम र फिचर लोडेड बनाएर ल्याएको छ । साथै, एमजीले हेक्टरमा नयाँ इन्जिन समेत थप गर्ने अनुमान गरिएको छ ।
टाटाले आफ्नो सबैभन्दा ठूलो एसयूभी सफरीमा थुप्रै फिचर अपग्रेड गर्न लागेको छ । निकै प्रिमियम सेग्मेन्टमा उपलब्ध रहने फिचरहरुलाई नयाँ सफारीमा दिएर कम्पनीले यसलाई बजारमा उतार्ने तयारी गरेको हो ।

