काठमाडौं । कोरियाली अटोमोबाइल उत्पादक हुन्हाईको नयाँ मिडसाइज एसयूभी सडक परीक्षणको क्रममा देखिएको छ । कम्पनीले भारतमा विभिन्न सडकमा परीक्षण गरिरहेका स्पाई तस्बिर बाहिरिएको हो ।
कम्पनीले आगामी फेस्टिभ सिजनमा लन्च गर्ने तयारी गरिरहेको यो एसयूभी हुन्डाईको ‘बायोन’ प्लेटफर्ममा आधारित छ । तर, यसको बाहिरी डिजाइन भने पूर्ण रूपमा फरक हुनेछ ।
हुन्डाईको यो मिडसाइज एसयूभी क्रेटाभन्दा मुनिको लाइनअपमा रहने छ । तर यसको लम्बाइ भने ४ मिटरभन्दा बढी नै हुनेछ।
पूरै ढाकेर परीक्षणमा भइरहेको यो नयाँ गाडीको समग्र डिजाइन परम्परागत बक्सी एसयूभीभन्दा फरक क्रसओभर जस्तो देखिन्छ। गाडीको अगाडिको भागमा छुट्टै राखिएको ‘स्प्लिट हेडलाइट’ र माथिल्लो भागमा पूरै चौडाइभरि फैलिएको एलईडी लाइट बार दिइएको छ । यसको मुख्य हेडलाइट नयाँ ‘भर्ना’ कारसँग मिल्दोझुल्दो । अगाडि दुई भागमा विभाजित एयर इन्टेक र बीचमा नम्बर प्लेट राख्ने ठाउँ छ।
साइडमा माथितिर उकालिएको झ्यालको लाइन सी पिलरमा विशेष मोड देख्न सकिन्छ । साथै यसमा साधारण डोर ह्याण्डल, छतमा रूफ रेल र आर्चह्वील दिइएको छ । पछाडिको भागमा अगाडिकै जस्तै पातलो एलईडी लाइट ब्याण्ड, आकर्षक रूफ स्पोइलर र पेटल स्टाइल डुअल टोन अलोय ह्वील प्रयोग गरिएको छ।
केही दिनअघि यस नयाँ एसयूभीको इन्टेरियरको पहिलो झलक बाहिरिएको थियो । यसमा हुन्डाईका आधुनिक कारहरुमा जस्तै ड्यासबोर्डमा दुईवटा स्क्रीन जोडिएको सेटअप देख्न सकिन्छ। यी स्क्रीनहरू हुनडाई भेन्यूको टप भेरियन्टमा पाइने १२.३ इन्चका युनिटहरू हुन सक्छन् । स्टेयरिङ ह्वील डुअल टोन ढाँचाको छ । जसको बीचमा मोर्स कोड अनुसार ‘एच’ अक्षर जनाउने चारवटा थोप्ला राखिएका छन्। क्याबिनमा कालो र सेतो दुईवटा रङको संयोजन हुनेछ । हुन्डाईका अन्य गाडी जस्तै यो पनि आधुनिक फिचरहरूले भरिपूर्ण हुने अपेक्षा गरिएको छ।
यसमा हुन्डाई क्रेटामै प्रयोग भएको ११५ हर्सपावर दिने १.५ लिटर, फोर सिलिण्डर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन रहनेछ । जुन ६ स्पीड म्यानुअल र सीभीटी गियरबक्स विकल्पमा आउनेछ। साथै, यस इन्जिनमा सीएनजी विकल्प पनि उपलब्ध हुनेछ।
हुन्डाईले पनि यो नयाँ गाडीमार्फत मिडसाइज एसयूभी बजारमा आफ्नो पकड बलियो बनाउने लक्ष्य राखेको छ। मूल्यको हिसाबले यो क्रेटाभन्दा सस्तो हुनेछ।


