काठमाडौं । भियतनामी इलेक्ट्रीक कार कम्पनी भिनफास्टको नेपालका लागि आधिकारिक बिक्रेतामा विशाल ग्रुप नियुक्त भएको हो ।
नेपालमा भिनफास्टको डिलर हात पार्न तीव्र दौडधूपमा रहेका विभिन्न व्यावसायिक घरानालाई पछि पार्दै विशाल ग्रुपले डिलरशिप हात पारेको हो ।
यद्यपि, डिलरशिप पाएको बारे ग्रुपले हालसम्म आधिकारीक घोषणा भने गरेको छैन । तर, विशाल ग्रुप नै भिनफास्टको नेपालका लागि आधिकारिक बिक्रेता बनेको स्रोतले मेरोअटोलाई पुष्टि गरेको छ ।
भिनफास्टले केही हप्ता अघि मात्रै भारतको तामिलनाडु सरकारसँग प्लान्ट लगाउने विषयमा सम्झौता गरेको थियो । भारतमा उत्पादन हुने भएसँगै भिनफास्ट नेपाल ल्याउन व्यवसायीहरू लागि परेका थिए । उक्त दौडमा विशाल ग्रुपले सबैलाई पाखा लगाउँदै डिलर आफूले हात पारेको हो ।

भिनफास्ट ग्रुपले तामिलनाडुमा २ अर्ब डलर लगानी गर्ने र त्यहाँ उत्पादन भएका कार भारतसँगै अन्तर्राष्ट्रिय बजारमा पनि निर्यात गर्ने जनाएको छ । सम्झौता अुसार कम्पनीले पहिलो चरणमा ५० करोड डलर लगानी गर्नेछ । त्यसपछि क्रमशः लगानी बढाउँदै लानेछ ।
अमेरिकी बजारबाट आफूलाई बलियोसँग उभ्याउन लागिपरेको भिनफास्टले भारतीय बजारमा बढ्दो कारको मागलाई सम्बोधन गर्न प्लान्ट स्थापनाको काम अगाडि बढाएको हो । कम्पनीले यो प्लान्टबाट वार्षिक १ लाख ५० हजार यूनिट कार उत्पादन गर्ने लक्ष्य लिएको छ ।
सन् २०२४ को मध्यसम्ममा नयाँ प्लान्ट निर्माणको काम अगाडि बढ्ने छ । कम्पनीले २०२५ को अन्त्यसम्ममा भारतीय प्लान्टबाट उत्पादन सुरू गर्ने लक्ष्य लिएको छ ।

