काठमाडौं । जर्मन अटोमोबाइल उत्पादक फक्सवागेन ग्रुपले आफ्ना विश्वव्यापी उत्पादन लाइनअप आधा कटौती गर्ने तयारी गरेको छ ।
खस्कँदो व्यापार, बढ्दो उत्पादन लागत, चिनियाँ ईभीको दबदबा बढ्नु लगायत कारण कम्पनीले आफ्नो लाइनअप ५० प्रतिशतले कटौती गर्ने कठोर कदम चाल्न लागेको हो ।
फक्सवागेनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ओलिभर ब्लुमले परिस्थितिलाई नियन्त्रणमा लिन भावी योजना अघि सारेका छन् । उनले १२ वटा मुख्य सुधारका काम अघि सार्दै सन् २०३० सम्मको योजना बनाएका हुन् ।
जसमा फक्सवागेनको हालको मोडल लाइनअपलाई क्रमशः ५० प्रतिशतसम्म घटाउने प्रस्ताव गरेका छन् । त्यस्तै, गाडीको मोडल र भेरियन्ट अप्सन ७५ प्रतिशतसम्म कटौती गरेर उत्पादन प्रक्रियालाई सरल बनाइने छ।
त्यसैगरी, नाफामूलक मोडल उत्पादनमा मात्रै ध्यान दिने, विभिन्न प्लाण्ट बनद गर्ने, कामदार कटौती गर्ने लगायत योजना अघि सारेका छन् ।
फक्सवागेनले आफ्नो विश्वव्यापी उत्पादन क्षमतालाई प्रतिवर्ष १ करोड युनिटबाट घटाएर ९० लाख युनिटमा झार्ने घोषणा गरेको छ । त्यस्तै, जर्मनीमा रहेका चारवटा कारखानाहरू पूर्ण रूपमा बन्द गर्ने र करिब १ लाख कर्मचारी कटौती गर्ने प्रस्ताव गरेका थिए । तर, कम्पनीको बोर्डमा रहेका श्रमिक प्रतिनिधिहरूको कडा विरोधका कारण तत्कालका लागि यो कदम रोकिएको छ।
सीईओ ब्लुमले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामीले हाम्रो उत्पादन पोर्टफोलियो, प्रविधि प्लेटफर्म, युनिटहरूको सङ्ख्या र निर्णय प्रक्रियाका तहहरूमा रहेको जटिलतालाई उल्लेख्य रूपमा कम गरेर मात्र यो संकटबाट पार पाउन सक्छौं ।’
कम्पनीको यो निर्णयसँगै अमेरिका र अन्य देशमा चर्चित रहेका कम बिक्री हुने गल्फ आर ह्याचब्याक, जेट्टा जीएलआई सेडान, वा अडी ई ट्रोन जीटी ईभी लगायत मोडलको उत्पादन सधैंका लागि बन्द हुन सक्छ ।
कम्पनीमा नगद प्रवाह बढाउन फक्सवागेनले आफ्ना लग्जरी ब्राण्ड ल्याम्बोर्गिनी र इटालेली मोटरसाइकल ब्राण्ड डुकाटीलाई बेच्न सक्ने हल्ला अटो बजारमा पुनः सुरु भएको छ । कम्पनीले यसअघि पोर्श्चेको आइपीओ जारी गरे पनि मूल्यमा लगातार गिरावट आइरहेको छ ।
बिक्रीमा ठूलो गिरावट
कम्पनीको बिक्रीमा लगातार गिरावट आइरहेको छ । अउडी, स्कोडा, बेन्टले, ल्याम्बोर्गिनी जस्ता विश्वचर्चित ब्राण्ड रहेको फक्सवागेनले यस वर्षको दोस्रो त्रैमासिकमा विश्वभर २० लाख ८० हजार सवारीसाधन बिक्री गरेको छ । जुन गत वर्ष सोही अवधिको तुलनामा ८.६ प्रतिशत कम हो ।
कम्पनीको ठूलो बजार चीनमा दोस्रो त्रैमासमा बिक्रीमा ३६.६ प्रतिशतले घटेर ४ लाख २४ हजार ३०० युनिटमा सीमित भएको छ । त्यस्तै, एसिया–प्रशान्त क्षेत्रमा समग्र बिक्री ७.२ प्रतिशतले ओरालो लागेको छ ।
कम्पनीको व्यापारमा मेरुदण्ड मानिएको विद्युतीय सवारीको बिक्री पनि सस्त देखिएको छ । विश्व्व्यापी डेलिभरी ४.२ प्रतिशतले घटेर २ लाख ३८ हजार ४०० मा सीभित भएको छ । अमेरिकामा सरकारी अनुदान कटौती र नयाँ भन्सार शुल्कका कारण कम्पनीको ईभी बिक्री ४९ प्रतिशतले घटेको छ ।
संकटका बीच कम्पनीका लागि केही क्षेत्रमा भने बिक्रीमा वृद्धि देखिएको छ । गत त्रैमासिकमा बिक्री दक्षिण अमेरिकामा ९.४ प्रतिशत, पश्चिमी युरोपमा १.८ प्रतिशत, मध्य तथा पूर्वी युरोपमा ६.७ प्रतिशतले बढेको छ ।


