काठमाडौं । जर्मन कार निर्माता कम्पनी फक्सवानले आफ्नो पहिलो इलेक्ट्रीक सेडान कार ‘आईडी एरो’ सार्वजनिक गरेको छ । कम्पनीले एक पटकको फुल चार्जमा ६२० किलोमिटर रेन्ज सहित आईडी एरो सार्वजनिक गरेको हो ।
डब्लूएलटीपीले गरेको परिक्षणमा यसको रेन्ज ६२० किलोमिटर देखिएको हो । अहिलेसम्म सर्वाधिक सटिक परिक्षण र रेटिङ कम्पनीको नामबाट डब्लूएलटीपी प्रसिद्ध रहेको छ ।
अहिले बजारमा रहेका टेस्ला मोडल थ्री र बीएमडब्लू आई फोर मोडलसँग सिधा प्रतिस्पर्धा गर्न आएको आईडी एरोले हुन्डाई आयोनीक सिक्सको पनि सामना गर्नु पर्ने हुन्छ । हुन्डाईले पनि हिजो नै आयोनीक सिक्सको ग्लोवल प्रिमियर गरेको हो ।
फक्सवागेनले यसलाई चिनियाँ बजारबाट विक्री सुरु गर्ने जनाएको छ । त्यसपछि यूरोप र अमेरिकी बजारमा आईडी एरो विक्री हुनेछ । कुप्पे बडी डिजाइनमा तयार भएको यो कार चिनियाँ धनाढ्य परिवारलाई केन्द्रमा राखेर उत्पादन गर्न लागिएको कम्पनीको भनाई छ ।
एलइडी मेट्रिक्स हेडल्याम्प, एलइडी लाइट बार, सि आकारको फगल्याम्प हाउजिङ, स्पोर्टी एयरट्याङ्क, २२ इन्चको आकर्षक अलोय ह्वील यसको एक्सटेरियरमा पाइने प्रमुख फिचर हुन् । साथै, कालो कलरको रुफ, निकै स्मुद बडी प्यानल, स्मार्ट डोर ह्याण्डल, आकर्षक टेललाईट र बम्परले यसको सडकमा दमदार उपस्थिति देखाउने छ ।
फक्सवागेनले यसलाई ‘एमइडी इलेक्ट्रीक प्लेटफर्म’मा आधारित रहेर बनाएको हो । यसमा ७७ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिएको छ । यसमा रहेको मोटर पावरको विषयमा कुनै जानकारी दिइएको छैन ।


