ओभरलोड नियन्त्रण गर्न हेटौंडामा संचालनमा ल्याइयो तौलपुल

सांकेतिक तस्बिर ।

काठमाडौं । त्रिभुवन राजपथमा ओभरलोड नियन्त्रण गर्ने उद्देश्यले हेटौंडामा ७ वर्षपछि मालवाहक सवारीसाधनको तौल नाप्ने (तौलपुल) पुनः संचालनमा ल्याइएको छ ।

नारायणी यातायात व्यवसायी संघले समोबादेखि मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ थानाभर्याङमा तौलपुल संचालनमा ल्याएको हो ।

संघले जिल्ला प्रशासन कार्यालय मकवानपुरको सहमतिमा उक्त तौल पुल संचालनमा ल्याएको हो । सोमबार नारायणी यातायात व्यवसायी संघका अध्यक्ष सरोज खनाल, नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव बद्रीप्रसाद चौलागाईं लगायतले संयुक्त रुपमा तौलपुलको शुभारम्भ गरेका हुन् ।

नेपाल सरकारबाट जारी भएको २०७४ सालको धर्मकाँटा नियमावलीअनुसार संचालन गरिएको हो। विगतमा थानाभर्याङमा तौलपुल संचालनमा रहे पनि २०७७ सालदेखि बन्द रहेको थियो ।

बाढीपहिरोको कारण पृथ्वी राजमार्ग बन्द रहेकाले हाल वैकल्पिक मार्गका रूपमा त्रिभुवन राजपथ प्रयोग भइरहेको छ । क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारीका कारण त्रिभुवन राजपथमा थप जोखिम उत्पन्न हुनसक्ने देखिएपछि नियन्त्रणका लागि तौल पुल संचालनमा ल्याइएको हो ।

तौलपुल संचालनमा आएसँगै अब तोकिएको भार भन्दा बढी लोड बोकेका गाडी त्रिभुवन राजपथ हुँदै संचालन हुन पाउने छैनन् । यस सडकमा गुड्ने १२ चक्के र १० चक्के गाडीले अधिकतम १५ टनसम्म मात्रै भार बोक्न पाउनेछन्। ६ चक्के तथा ४ चक्के सवारीसाधनले आफ्नो बिलबुकमा तोकिएको क्षमता अनुसार मात्रै मालसामान बोक्नुपर्नेछ ।

नारायणी यातायात व्यवसायी संघका अध्यक्ष खनालले तौलपुल संचालनसँगै विपद्को बेलाका ‘लाइफलाइन’का रूपमा प्रयोग भइरहेको त्रिभुवन राजपथको संरक्षण तथा दीर्घकालीन स्थायित्वमा सहयोग पुग्ने बताए ।

तौलपुलबाट सवारीसाधनको वास्तविक भार परीक्षण हुने र तोकिएको क्षमताभन्दा बढी मालसामान बोकेका सवारीसाधनलाई नियन्त्रण गर्न सहयोग पुग्ने उनको भनाइ छ ।


Back_to_top