२० इन्चको ह्वीलदेखि १५.६ इन्चको स्क्रीनसम्म, Jetour T2 किन खास ?

काठमाडौं । नेपाली बजारमा छिट्टै प्रवेश गर्ने तयारीमा रहेको जेटोर टी-२ एसयूभीको चर्चा अटोमोबाइल बजारमा सुरू भएको छ । शक्तिशाली डिजाइन, अफरोड क्षमता र अत्याधुनिक प्रविधिको संयोजनका कारण विश्वका विभिन्न बजारमा लोकप्रिय बनेको यो एसयूभी नेपालका सडक र भौगोलिक अवस्थाका लागि पनि उपयुक्त विकल्प बन्न सक्ने अपेक्षा गरिएको छ ।

लक्ष्मी ग्रुपअन्तर्गतको कम्पनीले नेपालमा बिक्री गर्ने जेटोर, चीनको चेरी ग्रुपअन्तर्गत एसयूभी उत्पादनमा केन्द्रित ब्राण्ड हो । पछिल्ला वर्षहरूमा साना क्रसओभरलाई पनि एसयूभीका रूपमा बजारमा उतार्ने प्रवृत्ति बढे पनि जेटोरले भने सुरूदेखि नै वास्तविक अफरोड क्षमतायुक्त एसयूभी निर्माणमा जोड दिँदै आएको छ ।

नेपाल आउन लागेको जेटोर टी-२ को लम्बाइ ४७८५ एमएम, चौडाइ २००६ एमएम र उचाइ १८७५ एमएम छ । २८०० एमएम लामो ह्वीलबेस र ५८० लिटर क्षमताको बुट स्पेसले यसलाई पारिवारिक यात्रा र लामो दूरीका लागि उपयोगी बनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा टी-२ पेट्रोल र आई-डीएम (i-DM) प्लगइन हाइब्रिड दुवै पावरट्रेनमा उपलब्ध छ। यसमा फ्रन्ट ह्वील ड्राइभ (FWD) र अल–ह्वील ड्राइभ (AWD) विकल्प पाइन्छ । नेपालमा कुन संस्करण आउने भन्ने आधिकारिक जानकारी सार्वजनिक नभए पनि अफरोड क्षमतालाई ध्यानमा राख्दै AWD मोडल आउने अपेक्षा गरिएको छ ।

जेटोरले टी-२ लाई अफरोड क्षमतायुक्त एसयूभीका रूपमा विकास गरेको छ । ठूलो ग्लासहाउस, ३६० डिग्री सराउन्ड भ्युूक्यामेरा र ‘सी -थ्रु’ भ्यु प्रणालीका कारण पार्किङदेखि अफरोड ड्राइभिङसम्म चालकलाई सहज अनुभव प्रदान गर्छ ।

सुरक्षाका हिसाबले पनि टी-२ निकै सशक्त देखिन्छ। यसमा अटोनोमस इमर्जेन्सी ब्रेकिङ (AEB), एडाप्टिभ क्रुज कन्ट्रोल, ट्राफिक जाम असिस्ट, लेन किप असिस्ट, फ्रन्ट र रियर पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा र ६ वटा एयरब्याग जस्ता आधुनिक सुरक्षा प्रणाली समावेश छन् ।

बाहिरी डिजाइनमा सबै एलइडी लाइट, २० इन्चका अलोय ह्वील, बक्सी र मस्कुलर स्टाइलिङ, पानोरामिक ग्लास रूफ, पावर फोल्डिङ डोर मिरर तथा कनेक्टेड एलईडी टेललाइटले टी-२ लाई अझ आकर्षक बनाएकाे छ ।

इन्टेरियर पनि प्रिमियम स्तरको छ। आधुनिक ड्यासबोर्डमा १५.६ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले, १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १२ स्पिकर अडियो सिस्टम दिइएको छ, जसले क्याबिनलाई थियटरजस्तै अनुभव प्रदान गर्छ।

यसका अतिरिक्त वायरलेस एप्पल कारप्ले, एन्ड्रोइड अटो, डुअल जोन क्लाइमेट कन्ट्रोल, मेमोरी फङ्सनसहितका विद्युतीय रूपमा समायोजन हुने अगाडिका सिट, हिटेड तथा भेन्टिलेटेड सिट लगायतका प्रिमियम सुविधाले टी-२ लाई आफ्नो वर्गमा प्रतिस्पर्धी बनाएको छ।

नेपालमा यसको मूल्य र आधिकारिक स्पेसिफिकेसन सार्वजनिक हुन बाँकी भए पनि डिजाइन, प्रविधि, सुरक्षा र अफरोड क्षमताको संयोजनका आधारमा जेटोर टी-२ नेपाली बजारको प्रिमियम एसयूभी सेग्मेन्टमा बलियो प्रतिस्पर्धी बन्ने संकेत देखिएको छ।


Back_to_top