काठमाडौं । महिन्द्रा प्यासेन्जर कारको आधिकार विक्रेता अग्नी इनकर्पोरेट प्रालिले एक्स्यूभी ३०० को टर्बो स्पोर्ट मोडल नेपाल ल्याएको छ । कम्पनीले यसअघिको तुलनामा पावरफुल इन्जिनमा एक्सयूभी ३०० नेपाल ल्याएको हो ।
यसअघि सन् २०२० मा एक्सयूभी ३०० को रेगुलर मोडल नेपाल ल्याएको भएपनि सेग्मेन्टमा रहेका टाटा नेक्सन, मारुती सुजुकी ब्रेजा, किया सोनेट र हुन्डाई भेन्यूको तुलनामा निकै कमजोर व्यापार गरेपछि यसको आयात रोकिएको थियो । तर, कम्पनीले यसअघिको तुलनामा नयाँ फिचर थप गर्दै सेग्मेन्ट कै सर्वाधिक पावरफुल इन्जिनमा एक्सयूभी ३०० नेपाल ल्याएको हो ।
अग्नी इनकर्पोरेटले नयाँ एक्सयूभी ३०० डब्लू४ भेरियन्टको मूल्य ४२ लाख ९५ हजार रुपैयाँ तोकेको छ । विभिन्न ४ भेरियन्टमा उपलब्ध हुने एक्सयूभी ३०० को डब्लू सिक्स भेरियन्टको ४९ लाख ९५ हजार, डब्लू एट भेरियन्टको ५७ लाख ५० हजार र डब्लू एट (अप्सनल)को ६० लाख रुपैयाँ निर्धारण गरिएको छ ।
पावरफुल इन्जिन
महिन्द्राले एक्सयूभी ३०० टर्बो स्र्पोट मोडलमा पनि रेगुलर मोडलको जस्तै १.२ लिटर टर्बो इन्जिन दिएको छ । रेगुलर इन्जिनले ११० पीएस पावर दिन्थ्यो । तर, नयाँ मोडलमा दिइएको स्पोर्ट टर्बोले १३० पीएस पावर प्रदान गर्छ ।
सेग्मेन्टमा उपलब्ध अन्य कारमा नेक्सनको १२० पीएस, ब्रेजाको १०३ पीएस र भेन्यू र सोनेटको समान ८३ पीएस पावर प्रदान गर्छ ।
सुरक्षा र फिचरमा अब्बल
टाटा नेक्सनपछि भारतीय ब्राण्डले उत्पादन गरेको एसयूभीको रुपमा एक्सयूभी ३०० ले ग्लोवल एनक्याप क्र्यास टेष्टमा ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ । अहिले पनि सेग्मेन्टकै सर्वाधिक सुरक्षित कारको रुपमा एक्सयूभी ३०० लाई लिने गरिन्छ ।

महिन्द्राले यसको स्टायडर्ड भेरियन्टमा अगाडि दुई एयरब्याग, इबीडी सहितको एबीएस, रिभर्स पार्किङ सेन्सर, चारवटै चक्कामा डिस्क ब्रेक दिएको छ । यसको क्याविनलाई आरमदायी र मनोरञ्जनात्मक बनाउन कम्पनीले थुप्रै सेग्मेन्ट फस्ट फिचर दिएको छ । सेन्टर कन्सोलमा दिइएको ७ इन्चको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम, स्टेयरिङ माउन्टेड कन्ट्रोल र पुश बटन स्टार्ट÷स्टप, टप भेरियन्टमा दिइएको सनरुफ, लेदर सिमासिक किस्ता हो ।
महिन्द्रा एक्सयूभी ३०० को सुरुवाती मूल्य नै ४२ लाख ९५ हजार रुपैयाँ रहेको छ । यसको मतलव गाडी किन्ने ग्राहकले मूल्यको ५० प्रतिशत रकम डाउन पेमेन्ट वापत बुझाउनु पर्ने हुन्छ । मूल्यको ५० प्रतिशतले हुन आउने २१ लाख ४७ हजार ५०० रुपैयाँ डाउन पेमेन्ट वापत र त्यति नै रकम बैंकबाट कर्जा वापत पाउन सकिन्छ ।

अहिले बैंकले १३ देखि १४ प्रतिशत ब्याजदरमा अटोकर्जा उपलब्ध गराउँदै आएका छन् । यस हिसावले ७ वर्षसम्ममा कर्जा भुक्तान गर्ने हिसावले एक्सयूभी ३०० खरिद गर्दा मासिक ३९ हजार ७०० रुपैयाँ तिर्नु पर्ने देखिन्छ ।
त्यसैगरी डब्लू सिक्स भेरियन्ट किन्ने ग्राहकले मासिक ४६ हजार रुपैयाँ र डब्लू एट भेरियन्ट किन्नेले मासिक ५३ हजार र टप भेरियन्ट डब्लू एट (अप्सनल) किन्नेले ५५ हजार ४०० रुपैयाँ किस्ता तिर्नु पर्ने देखिन्छ ।

