काठमाडौं । महिन्द्राको लागि नेपालको आधिकारिक विक्रेता अग्नी इनकर्पोरेट प्रालिले एक्सयूभी ७०० एसयूभीको विक्री सुरू गरेको छ । कम्पनीले सोमबार (माघ १६ गते) साँझ एक कार्यक्रम गरी एक्सयूभी ७०० को औपचारीक विक्री सुरू गरेको हो ।
भारतीय एसयूभी एक्सपर्ट रूपमा चिनिने महिन्द्राको एक्सयूभी ७०० भारतमा वेटिङ पिरियडमा बिक्री भइरहेको । त्यस्तै, एक्सयूभी ७०० को फिचर र मूल्यमा प्रतिस्पर्धा हुन सक्ने अमेरिकी ब्राण्ड जीपको कम्पास पनि नेपाली बजारमा केही वर्षदेखि विक्री भइरहेको छ । नेपालमा लाइफ अटोमोबाइलले जीपका गाडीहरू विक्री वितरण गर्दै आएको छ ।
भारतीय एसयूभी एक्सपर्ट महिन्द्रा र अमेरिकी एसयूभी एक्सपर्ट जीपका यी दुई एसयूभीको प्रतिस्पर्धा रोमान्चक हुने देखिन्छ । हामीले यी दुवै एसयूभीको डिजाइन, पावर, मूल्यलगायतका विविध विषयमा भएको भिन्नता र समानता केलाउने प्रयास गरेका छौं ।
इन्जिन
महिन्द्रा एक्सयूभी ७०० निकै पावरफुल इन्जिनको साथ बजारमा आएको छ । कम्पनीले यसमा २.० लिटर टर्बो पेट्रोल इन्जिन दिएको छ । पावरफुल पेट्रोल इन्जिन रहेको एक्सयूभी ७०० जस्तोसुकै बाटोको लागि उपयुक्त हुने कम्पनीले दावी गरेको छ । यसमा रहेको टर्बो पेट्रोल इन्जिनले २०० पीएस पावर तथा ३८० एनएम टर्क प्रदान गर्छ । एक्सयूभी ७०० मा ६ स्पीडको म्यानुअल तथा ६ स्पीडकै टर्क कन्भटर अटोमेटिक ट्रान्समिसन रहेको छ ।

जीप कम्पासको पेट्रोलमा १.४ लिटरको मल्टी एयर टर्बो इन्जिन रहेको छ, जसले १६० एचपी पावर तथा २५० एनएम टर्क जेनेरेट गर्छ । यो ६ स्पीड म्यानुअल ट्रान्समिसन र ७ स्पीड डीसीटी अटोमेटिक अप्सनमा उपलब्ध छ ।
समग्रमा महिन्द्रा एक्सयूभी ७००को टर्बो पेट्रोल इन्जिन बढी पावरफुल रहेको छ ।
डायमेन्सन
महिन्द्रा एक्सयूभी ७०० को लम्बाइ ४६९५ , चौडाइ १८९० र उचाइ १७५५ एमएमको रहेको छ । यसको ह्वीलबेस २७५० एमएमको रहेको छ । त्यस्तै, जीप कम्पासको लम्बाइ ४४०५, चौडाइ १८१८ र उचाइ १६४० एमएमको रहेको छ । यसको ह्वीलबेस २६३६ एमएमको रहेको छ । एक्सयूभी ७००को ग्राउण्ड क्लियरेन्स २०० एमएम छ भने जीप कम्पासको ग्राउण्ड क्लियरेन्स २०८ एमएम पाउन सकिन्छ ।
साइजको हिसाबले एक्सयूभी ७०० जीप कम्पासभन्दा केहि ठूलो छ ।
विशेषता
महिन्द्राको एक्स्यूभी ७०० मा ‘एड्रिनोएक्स’ कनेक्ट फिचर पाउन सकिन्छ । बोस्च इन्डियाले उत्पादन गरेको यो सिस्टम निकै नवीनतम र प्रयोग गर्न सजिलो रहेको छ । एड्रिनोएक्स कनेक्ट सिस्टमको कारण यसमा थुप्रै यूनिक सुरक्षा फिचरहरू समेत उपलब्ध रहेका छन् । बोस्चकाे चालकलाई निन्द्रा लागेको पत्ता लगाउने ‘डाउजीनेस अलर्ट’ प्रविधि प्रयोग गरेको यो सेग्मेन्टमा नै पहिलो एसयूभी हाे । उक्त सिस्टमले चालकको बानी व्यहोरालाई राम्रोसँग विश्लेषण गरेर बेला बखतमा अन्य वार्निङ समेत गरिरहने हुन्छ ।

याे एसयूभीमा सुरक्षाका लागि ७ वटा एयरब्याग रहेकाे छ । यो एसयूभीमा लेन डिपाचर वार्निङ, फरवार्ड कोलिजन वार्निङ, अटोमेटिक एमर्जेन्सी ब्रेकिङ, ब्लाइण्ड स्पट डिटेक्सन, रियरक्रस ट्राफिक असिस्ट, एमर्जेन्सी ब्रेक लाइट फ्ल्यास, हिल होल्ड, आदि सुरक्षा फिचरहरू उपलब्ध छ । ग्लोबल एनक्यापको क्रयास टेष्टमा ५ स्टार रेटिङ पाएको एक्सयूभी७०० ले सन् २०२२ को ग्लोबल एनक्यापले दिने ‘सेफर च्वाइस अवार्ड’ समेत पाएको छ ।
त्यसबाहेक यसमा मोबाइल कनेक्ट, ३६० डिग्री क्यामरा, नेभिगेशन सिस्टम, रिमोर्ट स्टार्टरस्टप, डिउज जोन क्लाइमेट कन्ट्रोल, रिमोर्ट विन्डो कन्ट्रोल, मोबाइल एप र स्मार्टवाचबाट भेहिकल कन्ट्रोल, अडाप्टीभ क्रुज कन्ट्रोल, ठूलो साइजको प्यानारोमिक सनरूफ, जस्ता फिचर पनि यसमा समावेश छन् । यसमा ७ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर तथा १२ वटा सोनीको स्पिकर सहितको १०.२५ इन्चको कनेक्टेड इन्फोटेन्मेन्ट सिस्टम दिइएकाे छ ।
फरक फरक चाकलको सहजताका लागि एक्सयूभी ७०० मा ३ फरक सिट मेमोरी सहितको ८ तरिकाले इलेक्ट्रीकल्ली एड्जस्ट गर्न सकिने ड्राइभर सिट रहेको छ ।

जीप कम्पासमा रिभेम्प गरिएको ड्यासबोर्ड, नयाँ एसी भेन्ट, एचभीएसी कन्ट्रोल जस्ता फिचर्स दिइएको छ । यसमा १०.१ इन्चको फराकिलो टचस्क्रीनको साथमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, डबल-स्टीच लेदर इन्सर्ट र नयाँ थ्रि स्पोक स्टेरिङ ह्वील रहेको छ । यसमा भने ८ वे इलेक्ट्रीकल्ली एड्जस्टेबल फ्रन्ट सिट रहेको छ ।
यसमा एफसीएले निर्माण गरेको पाँचौं पुस्ताको यू-कनेक्ट इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो पाउन सकिन्छ । त्यसैगरी, थप फिचरमा ड्यूल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर टेलगेट, ३६० डिग्री क्यामेरा, प्यानारोमीक सनरूफ समावेश गरिएको छ । यसको ड्राइभर सिट मेमोरिमा २ वटा अप्सन मात्र रहेको छ । जीप कम्पासले पनि यूरो एनक्यापको क्रयास टेस्टमा ५ स्टार रेटिङ पाएको छ । सुरक्षाका लागि यो एसयूभीमा ६ वटा एयरव्याग दिइएकाे छ ।
एक्सयूभी ७०० मा ७ सिटसम्मको अप्सन पाउन सकिन्छ भने जीप कम्पास ५ सिटर एसयूभी हो । जीपमा थप फिचरको रूपमा इलेक्ट्रीक ओपन क्लोज टेल गेट रहेका छ जुन एक्सयूभी ७०० मा छैन ।
समग्रमा फिचरको मामलामा जीप कम्पासको तुलनामा एक्सयूभी ७०० अगाडि रहेको देखिन्छ ।
मूल्य
महिन्द्राले एक्सयूभी ७०० को टप भेरियन्टको मूल्य भने १ करोड १० लाख रुपैयाँ कायम गरेको छ । एक्सयूभीको बेस भेरियन्ट एएक्स ३ को मूल्य ७४ लाख, एएक्स ५ को ८१ लाख र अर्को एएक्स ५ सात सिटरको ८३ लाख रुपैयाँ निर्धारण गरेको छ ।
त्यस्तै, एक्सयूभी ७०० एएक्स ५ अटोमेटिक ५ सिटरको मूल्य ८९ लाख र एएक्स ७ मेनुअलको मूल्य १ करोड ५ लाख र एएक्स ७ अटोमेटिकको मूल्य १ करोड १० लाख रुपैयाँ निर्धारण गरेको हो ।
फेसलिफ्ट जीप कम्पास पेट्रोल इन्जिनमा ३ भेरियन्टमा विक्री वितरण हुँदै आएको छ । जसमा स्पोट म्यानुयल भेरियन्टको मूल्य ८४ लाख ९० हजार, लङगिच्यूट (अप्सनल) अटोमेटिकको ९९ लाख ९० हजार र लिमिटेड (अप्सनल) को मूल्य १ करोड ११ लाख ९० हजार रुपैयाँ रहेको छ ।
अन्त्यमा, जीप कम्पास भन्दा पावर र फिचर तथा भ्यालु फर मनी खाेज्ने ग्राहकहरूका लागि महिन्द्राकाे एक्सयूभी ७०० उत्कृस्ट छनाैट हुन सक्छ ।

