काठमाडौं । मोटरसाइकललाई स्टाइलिस बनाउन भन्दै लुकिङ ग्लास परिवर्तन गर्ने सोच्नु भएको छ भने नगर्नुस् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलको लुकिङ ग्लास तोडमोड गर्ने या परिवर्तन गरेर राख्ने चालकलाई कारवाही थालेको छ ।
लुकिङ ग्लासको जथाभावी प्रयोग गर्ने, हटाउने तथा स्वरूप परिवर्तन गरेका कारण चालकले पछाडिको सवारी नदेख्दा दुर्घटना बढेको भन्दै महाशाखाले उक्त अभियान थालेको जनाएको छ ।
महाशाखाले लुकिङ ग्लास फोल्ड गर्ने, नराख्ने तथा नदेखिने गरी राख्ने चालकमाथि शुरु भएको अभियानअन्तर्गत शनिबार ३४५ चालकलाई कारवाही गरिएको जनाएको छ । त्यसैगरी आज आइतबार पनि २३५ जना चालक कारवाहीमा परेका छन् । यसरी कारवाहीमा परेका चालकलाई ५०० देखि १५०० सम्म जरिवाना गरिने महाशाखाले जनाएको छ ।
यस्ता चालकलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारवाही गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।


