काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२० नजिकिँदै गएको छ । २०१९ को अन्तिम तिर पुग्दैगर्दा वर्ष दिनभरिका क्रियाकलापको लेखाजोखा गर्न थालिएको छ । अन्य क्षेत्रमा जस्तै, यो वर्ष नेपाली अटोबजारको गतिविधिलाई केलाउन सुरु गरिएको छ ।
सानो भनिएतापनि स्थापित बन्दै गएको दुईपाँग्रे अटोबजारमा २०१९मा नयाँ बाइक तथा स्कुटर भित्रिएका छन् । यामाहा, हिरो, टीभीएस, बजाज, सुजुकी, केटीएम लगायतका कम्पनीले नयाँ मोडल नेपाल ल्याएका थिए । यी कम्पनीले भित्र्याएका केही मोडलले एक वर्षे अवधिमा नै राम्रो प्रतिक्रिया पाएका छन् ।
एफजेडएस एफआई भी–३
यामाहाले २०१९ मा नेपाल भित्र्याएको यो बाइक ३ लाख १८ हजार ९ सय रुपैयाँमा बिक्री हुँदै आएको छ । यो बाइकमा फ्युल इन्जेक्सन प्रविधि र एन्टिलक ब्रेकिङ सिस्टम दिइएको छ । कम्पनीले यसको ‘पावरट्रेन’मा ठूलो सुधार गरेको छ । यसमा १ ४९ सिसीको सिंगल–सिलिन्डर, फ्युल–इन्जेक्टेड ब्लुकोर इन्जिन रहेको छ, जसले अधिकतम १३.२ बिएचपी पावर र १२.८ एनएम टर्क उत्पन्न गर्छ ।
यामाहा एमटी–१५
यामाहा एमटी १५, एमटी सिरिजको सबैभन्दा कान्छो र यामाहा आर १५ भी३ को ‘नेकेड स्ट्रिट फाइटर भर्सन’ को रुपमा सार्वजनिक भएको हो । १५५ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन जडान गरिएको यामाहा एमटी १५ ले १० हजार आरपीएममा १९.३ एचपी पावर र ८ हजार ५ सय आरपीएममा अधिकतम १४.७ एनएम टर्क उत्पादन गर्छ । यो बाइकको मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ रहेको छ । साथै कम्पनीले यो वर्ष एफजेड २५ डबल च्यानल एबीएस, मोटोजिपी डबल एबीएस र आर १५ भी थ्री मोटोजिपी गरि पाँच नयाँ बाइक नेपाल भित्र्र्याएको थियो ।
टीभीएस १६० डबल डिस्क
टीभीएस मोटर कम्पनीको लोकप्रिय टीभीएस अपाचे सिरिज अन्तर्गत रहेको अपाचे आरटीआर १६०, २ भी रेस एडिसन डबल डिस्कले राम्रो बजार पाइरहेको छ । यसको मुख्य आकर्षण डबल डिस्क ब्रेक, न्यू हाईग्रिप रिमोरा टायर, न्यू रेसिङ ग्राफिक, न्यू थ्रिडि हर्स लोगो ओभरस्क्वायर इन्जिन र डिजिटल डिस्प्ले हुन् । यसमा उपलब्ध इन्जिनले ८ हजार आरपिएममा १५.११ पीएस पावरसाथै ६५ सय आरपीएममा १३.०३ एनएम टर्क उत्पादन गर्छ । नेपाली बजारमा यो बाइक २ लाख ६४ हजार ९०० रुपैयाँमा बिक्री भइरहेको छ ।
बजाज पल्सर १५० टीडी
यो बाइक बिभिन्न तीन कलर भेरिएन्टमा बजारमा उपलब्ध रहेको छ । जसमा कालो निलो, कालो रातो तथा ब्ल्याक क्रोम हुन् । पल्सर १५० ट्वीन डिस्कमा १४९.५ सीसी सिंगल सिलिन्डर डिटिएसआई इञ्जिन दिइएको छ ।
यस बाइकमा दुईवटा भल्भ जडान गरिएको छ । यसमा लगाइएको ट्वीन स्पार्क मोटरले ८००० आरपीएममा १४ बीएचपी पावर र ६००० आरपीएममा १३.४ एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा पाँच स्पिड ५ गियरबक्स लगाइएको छ । यो बाइक हाल, २ लाख ६६ हजार ९ सय रुपैयाँमा बिक्री हुँदै आएको छ ।
एक्सपल्स २००
हिरोको नयाँ बाइक एक्सपल्स २००, ३ लाख ८५ हजार रुपैयाँमा बिक्री हुदै आएको छ । बाइकमा उपलब्ध एयर कुल्ड, फ्युल इन्जेक्सन, सिंगल सिलेन्डर इन्जिनले ८००० आरपीएममा १८.४ पीएसको पावर र ६५०० आरपीएममा १७.१ एनएमको टर्क उत्पादन गर्छ । इन्जिनमा ५ स्पिड गियरबक्स समावेश गरिएको छ । सो बाइकलाई अफरोड राइडिङको लागि डिजाइन गरिएको छ । यसको ग्राउन्ड क्लियरेन्स २२० एमएम छ ।
सुजुकी जिक्सर १५० (२०१९)
सुुजुकी जिक्सर १५० मा १५५ सीसी सिंगल सिलिन्डर एयर कुल्ड फ्युल इन्जेक्टेड इन्जिन रहेको छ । यसमा पाँच स्पीड गियरबक्स दिइएको छ । यो इन्जिनले १४.५ बीएचपी पावरका साथै १४ एनएम टर्क उत्पादन गर्छ ।
यी मोटरसाइकलमा फुल एलइडी हेडल्याम्प डिजाइनसँगै फ्रन्ट र रियरमा सार्प लुक्स दिइएको छ । यसमा आकर्षक फ्युल ट्यांकसँगै ह्यान्डलबार, फ्रन्ट पोजिसन फुटपेज दिइएको छ । यो बाइकको मूल्य ३ लाख १५ हजार रुपैयाँ रहेको छ ।
केटीएम ड्यूक १२५
२०१९ मा नेपाली बजारमा भित्रिएको केटीएम ड्यूक १२५ को मूल्य चार लाख ४९ हजार रुपैयाँ रहेको छ । सिंगल च्यानल एबीएस, स्प्लिट हेडल्याम्प, आइकोनिक ट्यांक, माइलेज, एफआई पावरट्रेन यसका सवल पक्ष हुन् ।यसमा उपलब्ध फोर भल्भ डिओएचसी इन्जिनले १४.५ बीएच पावरका साथै १२ एनएम टर्क उत्पादन गर्छ । यसमा सार्प एलइडी डिआरएलएस, एलइडी हेडल्याम्प, एलइडी डिआरएलएस, टचस्क्रिन इन्स्ट्रुमेन्ट क्लस्टर जस्ता फिचर दिइएको छ ।
बेनेली टीएनटी १५
बेनेली टीएनटी–१५ मा १४८ सीसी, एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले ८५०० आरपीएममा १२.०६ बीएच पावर उत्पादन गर्छ । यस बाइकको इन्जिनमा ५ स्पीड म्यानुयल गियरबक्स जडान गरिएको छ । बाइकमा १६ लिटर क्षमताको फ्यूल ट्यांक दिइएको छ ।
यस बाइकको टप स्पीड क्षमता १३० किलोमिटर प्रतिघन्टा रहेको छ भने यसले ४५ देखि ५० किलोमिटर प्रतिलिटर माइलेज दिन्छ । यसको नेपाली बजारमा मूल्य २ लाख ३० हजार रुपैयाँ रहेको छ ।


