अध्यादेशमार्फत सवारी ऐनका डेढ दर्जन व्यवस्था संशोधन गरिँदै, यस्ता छन् नयाँ प्रस्ताव

काठमाडौं । सरकारले अध्यादेशमार्फ ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’मा रहेका डेढ दर्जन व्यवस्था संशोधन गर्ने भएको छ ।

सरकारले ‘लगानी तथा पूर्वाधार सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८३’ मार्फत सवारी ऐनका १७ दफा संशोधन गर्ने प्रस्ताव गरेको हो ।

सरकाले अध्यादेश मार्फत एकैपटक ६३ वटा कानुन संशोधन गर्दैछ । त्यसमा सवारी तथा यातायात ऐन पनि समेटेको हो । सरकारले हालको सवारी तथा यातायात ऐनलाई संशोधन गरी व्यवहारिक र समायनुकूल बनाउन लागेको हो ।

सवारी तथा यातायात ऐन १२ औं पटक संशेधन गर्न लागिएको हो । वि.सं. २०४९ मा जारी ऐन यसअघि ११ औं पटक संशोधन भइसकेको छ ।

अहिले सवारी ऐनमा रहेका पर्यटन सवारी, सवारी साधनको प्रदूषक चेकजाँच, सवारी दर्ता, बाटो इजाजत (रुट परिमिट), बाटो इजाजतपत्रका लागि निवेदन, भुक्तानी, अन्तरप्रदेश यातायातको अभिलेख, विद्युतीय टिकट, सवारी चालकको सुविधा लगायत व्यवस्थामा संशोधन गर्न लागिएको छ ।

प्रस्तावित अध्यादेश मन्त्रिपरिषद्ले स्वीकृत गरी राष्ट्रपतिबाट प्रमाणित भई राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ ।

यस्ता छन् प्रस्तावित नयाँ व्यवस्थाहरू

निजी क्षेत्रले सवारी प्रदूषण जाँच गर्न पाउने

प्रस्तावित संशोधनमा अब निजी क्षेत्रका परीक्षण केन्द्रले पनि सवारी साधनको प्रदूषण जाँच गर्न पाउने व्यवस्था गरिएको छ । हाल सार्वजनिक सवारीको प्राविधिक अवस्था जाँच गराएर उपयुक्त देखिएमा अधिकारप्राप्त अधिकारीले जाँचपास प्रमाणपत्र दिने व्यवस्था छ ।

त्यसलाई संशोधन गर्दै अब मान्यताप्राप्त सवारी परीक्षण केन्द्रबाट पनि परीक्षण गराउन सकिने व्यवस्था गरिएको छ । दफा ९१ पछि उपदफा (क) थप्ने प्रस्ताव गरिएको छ । जसमा अधिकारप्राप्त निकायले सार्वजनिक सवारीको प्राविधिक परीक्षण तथा जाँचपासको प्रयोजनका लागि तोकिएको पूर्वाधार, उपकरण, प्राविधिक जनशक्ति, गुणस्तर नियन्त्रण तथा अन्य मापदण्ड पूरा गरेका सरकारी, सार्वजनिक वा निजी क्षेत्रबाट संचालित सवारी परीक्षण केन्द्रलाई मान्यता दिन सक्ने व्यवस्था गरिएको छ ।

मान्यता प्राप्त परीक्षण केन्द्रले तोकिएको परीक्षण विधि तथा मापदण्डबमोजिम सवारीको ब्रेक, स्टेरिङ, टायर, प्रकाश तथा सङ्केत प्रणाली, उत्सर्जन, संरचनात्मक अवस्था र अन्य आवश्यक प्राविधिक तथा सुरक्षा पक्षको परीक्षण गरी परीक्षणको वास्तविक नतिजासहितको प्रतिवेदन विद्युतीय अभिलेखमा प्रविष्ट गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

तर, परीक्षण केन्द्रले दिएको प्रतिवेदन नै आधिकारिक जाँचपास प्रमाणपत्र नहुने भनिएको छ । त्यसलाई आधार वा प्रमाणका रूपमा लिएर अधिकारप्राप्त निकायले नै प्रमाणपत्र जारी गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

परीक्षण केन्द्रको निष्पक्षता, स्वार्थको द्वन्द्व, अनुगमन, आकस्मिक पुनःपरीक्षण, गुनासो तथा पुनःपरीक्षणको अवसर र मापदण्ड उल्लंघन भए मान्यता निलम्बन वा खारेज गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

निजी सवारीले पर्यटक बोक्न पाउने

अध्यादेशमा अब निजी सवारी साधनले पनि पर्यटक बोक्न पाउने व्यवस्था गर्न लागिएको छ । दफा ७ मा उपदफा १ पछि थप ७ नयाँ बुँदा थप्दै पर्यटक सवारी सम्बन्धी व्यवस्था गरिएको छ ।

उपदफा १ (कमा प्रचलित कानूनबमोजिम पर्यटन व्यवसाय संचालन गर्ने इजाजतपत्र प्राप्त पर्यटन व्यवसायीले आफ्नो स्वामित्वमा रहेको पर्यटक सवारी वा प्रचलित कानूनबमोजिम यातायात सेवा संचालन गर्न अनुमति प्राप्त सार्वजनिक सवारी सम्बन्धित सवारी धनीसँग लिखित सम्झौता गरी भाडामा लिई पर्यटकीय प्रयोजनका लागि यातायात सेवा उपलब्ध गराउन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

त्यस्तै, उपदफा १ (ख) मा पर्यटन व्यवसाय संचालन गर्ने इजाजतपत्र प्राप्त पर्यटन व्यवसायीले सम्बन्धित अधिकारप्राप्त निकायबाट पर्यटकीय करार सेवाका लागि विशेष अनुमति प्राप्त गरी स्वीकृत सवारी सूचीमा सूचीकृत भएको निजी सवारीसमेत सम्बन्धित सवारी धनीसँग लिखित सम्झौता गरी पर्यटकीय प्रयोजनका लागि प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।

निजी सवारी पर्यटक बोक्न स्वीकृत गर्दा सवारीधनीको सहमति, सवारी दर्ता तथा नवीकरण भएका, प्राविधिक परीक्ष्ण, सुरक्षा मापदण्ड पूरा गरेको, यात्रु, चालक तथा तेस्रो पक्ष बीमा गरिएको, प्रचलित कानुन बमोजिम लाग्ने कर, शुल्क र दायित्व पूरा गरेको हुनुपर्नेछ ।

निजी सवारीको सूचीकरण तथा विशेष अनुमति दिने निकाय, सवारीको वर्ग तथा क्षमता, योग्यता, सूचीकरण र नवीकरण प्रक्रिया, सेवा सञ्चालनको क्षेत्र तथा अवधि, बीमा, कर, शुल्क, बुकिङ अभिलेख, अनुगमन, अनुमति निलम्बन वा रद्द गर्ने आधार तथा अन्य आवश्यक व्यवस्था तोकिए बमोजिम हुनेछ ।

सवारी दर्ता रोक्नु अघि मूल्यांकन गर्नुपर्ने

प्रस्तावित संशोधनमा वातावरणीय प्रदूषण बढेको, सडकको भौतिक तथा संचालन क्षमता कमजोर रहेको, सवारीको चाप अत्यधिक भएको वा यातायात सुरक्षामा गम्भीर असर परेको वस्तुगत आधार भएमा यातायात व्यवस्था विभागले सम्बन्धित निकायसँग समन्वय र परामर्श गरी कारणसहित निर्णय गरेर निश्चित प्रकारका सवारीको दर्ता रोक्न सक्ने व्यवस्था गरिएको छ ।

तर दर्ता रोक्नुअघि सवारी संचालनको समय र क्षेत्र निर्धारण गर्ने, रुट व्यवस्थापन गर्ने वा प्रदूषण नियन्त्रण गर्ने जस्ता कम प्रतिबन्धात्मक उपायबाट समस्या समाधान गर्न सकिने वा नसकिने विषयमा मूल्यांकन गर्नुपर्नेछ ।

दर्ता रोक्ने निर्णय एक पटकमा बढीमा ६ महिनाका लागि मात्र गर्न पाइनेछ । विभागले प्रत्येक तीन महिनामा निर्णयको पुनरावलोकन गर्नुपर्नेछ । अवस्था सामान्य भएमा दर्ता रोक्का तत्काल फुकुवा गर्नुपर्नेछ । आवश्यक अवस्था कायम रहेमा प्रक्रिया पूरा गरी एक पटकका लागि थप ६ महिना रोक्का गर्न सकिने प्रस्ताव छ।

त्यस्तै, दर्ता रोक्का गर्ने निर्णय गर्नुअघि सार्वजनिक सुरक्षा वा वातावरणमा तत्काल गम्भीर जोखिम उत्पन्न भएको अवस्था बाहेक सम्बन्धित निकाय, यातायात व्यवसायी र उपभोक्ताका प्रतिनिधिसँग परामर्श गर्नुपर्नेछ ।

अनलाइन आवेदन र दस्तुर भुक्तानी गर्न सकिने

सवारी साधनले बाटो इजाजतपत्र लिन विद्युतीय माध्यम (अनलाइन) बाट समेत आवेदन दिन र शुल्क बुझाउन सकिने व्यवस्था प्रस्ताव गरिएको छ । आवेदन प्राप्त भएको ७ कार्यदिनभित्र आवश्यक कागजात वा विवरण अपुग भएमा सम्बन्धित अधिकारीले सबै अपुग विवरण एकै पटक स्पष्ट रूपमा माग गर्नुपर्नेछ । सरकारी निकायको विद्युतीय अभिलेखबाट प्राप्त गर्न सकिने सवारी दर्ता, नवीकरण, जाँचपास र बीमा लगायतका विवरण सेवाग्राहीसँग पुनः माग गर्न पाइने छैन ।

त्यस्तै, आवेदन दिएपछि सेवाग्राहीलाई दर्ता नम्बर र आवेदन प्राप्त भएको मिति उपलब्ध गराउनुपर्नेछ । अनलाइन आवेदनको अवस्था, अपुग कागजात र निर्णयको जानकारी पनि विद्युतीय माध्यमबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाउनुपर्नेछ । विद्युतीय प्रणालीमा प्राविधिक समस्या आएमा अन्य माध्यमबाट आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली संचालनमा नरहेको कारण देखाएर आवेदन दर्ता गर्न अस्वीकार गर्न नपाइने प्रस्ताव गरिएको छ ।

अन्तरप्रदेश यातायात सेवालाई एकीकृत प्रणालीमा जोडिने

अन्तरप्रदेश सार्वजनिक यातायात सेवालाई व्यवस्थित र सहज बनाउन नेपाल सरकारले प्रदेश सरकारहरूसँग समन्वय गरी एकीकृत विद्युतीय सूचना प्रणाली संचालन गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
प्रस्तावित प्रणालीमा अन्तरप्रदेश यातायात सेवा सञ्चालन अनुमति, बाटो इजाजतपत्र, सवारी दर्ता, चालक अनुमतिपत्र, सवारी जाँचपास, बीमालगायतका विवरण तथा अभिलेख आदानप्रदान, प्रमाणीकरण र अद्यावधिक गर्न सकिनेछ । त्यस्तै, प्रणाली संचालन गर्दा सरकारी निकायबीच सूचना आदानप्रदान, अभिलेखको शुद्धता, नियमित अद्यावधिक तथा व्यक्तिगत विवरणको गोपनीयता र सुरक्षाको व्यवस्था सुनिश्चित गर्नुपर्नेछ।

तर, यस्तो प्रणाली संचालन हुँदैमा संघ, प्रदेश र स्थानीय तहको संवैधानिक अधिकार वा अनुमति दिने, नवीकरण गर्ने, नियमन तथा अनुगमन गर्ने अधिकारमा परिवर्तन नहुने स्पष्ट पारिएको छ ।

बाटो इजाजतपत्रको अवधि १ वर्ष हुने

अब सवारी साधनको बाटो इजाजत अनुमतिको म्याद १ वर्ष हुने प्रस्ताव गरिएको छ । हाल यस्तो अनुमतिको म्याद ४ महिना हुने व्यवस्था छ ।

त्यस्तै, आवश्यक विवरण र कागजातसहित आवेदन प्राप्त भएको वा अपुग कागजात पूरा भएको मितिले १५ कार्यदिनभित्र सम्बन्धित अधिकारीले बाटो इजाजतपत्र दिने वा नदिने निर्णय गर्नुपर्नेछ । इजाजतपत्र दिन अस्वीकार गरेमा त्यसको कारण स्पष्ट खुलाएर निवेदकलाई जानकारी दिनुपर्नेछ ।

बाटोको प्राविधिक अवस्था, सवारी सञ्चालनको उपयुक्तता वा सार्वजनिक सुरक्षासम्बन्धी थप परीक्षण गर्नुपर्ने भएमा एक पटकका लागि बढीमा ७ कार्यदिन समय थप गर्न सकिनेछ । निर्धारित समयभित्र निर्णय नभएमा इजाजतपत्र स्वतः प्राप्त भएको मानिने छैन । तर निवेदकले कार्यालय प्रमुखसमक्ष गुनासो गर्न सक्नेछ । कार्यालय प्रमुखले सात कार्यदिनभित्र गुनासोको परीक्षण गरी आवश्यक निर्देशन दिनुपर्नेछ ।

पुरानो देखाएर नयाँलाई रोक्न नपाउने

प्रस्तावित संशोधनमा कुनै पनि सडकमा बाटो इजाजात अनुमति दिन पहिले नै संचालनमा रहेका सवारी वा यातायात व्यवसायीको संख्या, उनीहरूको व्यावसायिक हित, यातायात व्यवसायी संघसंस्थाको सहमति नलिएको कारण देखाएर मात्र नयाँ इजाजतपत्र दिन रोक्न नपाइने स्पष्ट व्यवस्था प्रस्ताव गरिएको छ । यसले हाल चल्दै आएको सिण्डिकेट तोड्न सहयोग पुग्नेछ ।

सडकको भौतिक तथा संचालन क्षमता, सवारीको किसिम, यातायात सुरक्षा, वातावरणीय प्रभाव, यात्रुको माग र सार्वजनिक हितलाई ध्यानमा राखेर बाटो इजाजतपत्र दिने सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । यद्यपि, कुनै सडकमा थप सार्वजनिक सवारी सञ्चालन गर्दा सडकको सुरक्षित र व्यवस्थित प्रयोगमा गम्भीर असर पर्ने देखिएमा अधिकारप्राप्त अधिकारीले व्यवस्थापन समितिसँग परामर्श गरी कारणसहित निर्णय गरेर नयाँ बाटो इजाजतपत्र दिन अस्वीकार गर्न सक्नेछ । तर, अस्वीकार गर्दा त्यसको आधार र कारणसहितको मूल्यांकन विवरण अभिलेखमा राख्नुपर्नेछ । निवेदकलाई लिखित वा विद्युतीय माध्यमबाट निर्णयको जानकारी दिनुपर्नेछ ।


Back_to_top