काठमाडौं । ललितपुरमा गुड्ने ३०.५६ प्रतिशत सवारीसाधन प्रदूषण जाँचमा फेल भएका छन् ।
कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वयमा संचालन गरिएको सवारी प्रदूषण अनुगमन छड्के चेकजाँचमा यस्तो पाइएको हो ।
ललितपुरको खुमलटार, सातदोबाटोस्थित अनुगमनका कुल ३६ वटा सवारीको प्रदूषण जाँच गरिएको थियो । तीमध्ये ११ वटा सवारीसाधन प्रदूषण परीक्षणमा फेल भएका हुन् । यो कुल जाँचको ३०.५६ प्रतिशत हो । चेकजाँचका क्रममा २५ वटा सवारीसाधन भने पाए भएका थिए ।
वायु प्रदूषण गर्ने कारक मध्ये सवारी साधन पनि एक हुन् । त्यसलाई न्यूनीकरण गर्न वातावरण विभाग र ट्राफिक प्रहरीले संयुक्त रुपमा चेकजाँच गर्दै आएका छन् ।
प्रदूषण चेकजाँचमा फेल हुने सवारी साधनलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही हुन्छ । ऐनको दफा १६४ (१) (च) मा अवस्था ठीक नभएका सवारी साधन चलाउन नहुने व्यवस्था छ । त्यस्ता सवारी चलाएको पाइएमा ट्राफिक प्रहरीले तत्कालै पहिलोपटक ५०० रुपैयाँ, दोस्रो पटक १ हजार र तेस्रो पटक वा सोभन्दा बढीमा १ हजार ५०० रुपैयाँ जरिवाना गर्न सक्ने व्यवस्था छ ।

