रोयल इनफिल्डले २५० सीसीको सस्तो मोटरसाइकल ल्याउने

काठमाडौं । रोयल इनफिल्डले २५० सीसी प्लेटफर्ममा नयाँ मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले कम मूल्यमै रोयल इनफिल्डका मोटरसाइकल खोज्ने गहकलाई लक्षित गर्दै नयाँ २५० सीसीको मोटरसाइकल निर्माण गर्ने भएको हो ।

कम्पनीले हाल ३५० सीसी देखि ७५० सीसीसम्मका मोटरसाइकल उत्पादन गर्दै आएको छ । नयाँ २५० सीसीको मोटरसाइकल आगामी आर्थिक वर्षको मध्यतिर बजारमा आउने अनुमान गरिएको छ । यद्यपि कम्पनीले हालसम्म आधिकारिक रूपमा घोषणा गरिसकेको छैन ।

रिपोर्टअनुसार रोयल इनफिल्डले एउटा मात्र मोटरसाइकल नभई विभिन्न मोडलमा प्रयोग गर्न मिल्ने नयाँ २५० सीसी प्लेटफर्म विकास गरिरहेको छ । उत्पादन लागत नियन्त्रण गर्न सहज हुने भएकाले कम्पनीले एउटै प्लेटफर्ममा आधारित भएर फरक डिजाइन र मूल्यका मोटरसाइकल ल्याउने बताइएको छ ।

यसअघि कम्पनीले आन्तरिक रूपमा ‘भी’ नाम दिइएको प्लेटफर्म र चिनियाँ मोटरसाइकल निर्माता सीएफमोटोसँग सम्भावित प्राविधिक सहकार्य गर्न सक्ने चर्चा पनि सार्वजनिक भएको थियो । रोयल इनफिल्डले भने यस विषयमा आधिकारिक पुष्टि गरेको छैन ।

नयाँ २५० सीसी मोटरसाइकलमा हाइब्रिड प्रविधि प्रयोग हुन सक्ने चर्चा पनि छ । यसले इन्धन खपत कम गर्दै दैनिक प्रयोगलाई सहज बनाउने अपेक्षा गरिएको छ । केही रिपोर्टमा यसको माइलेज ४० देखि ४५ किलोमिटर प्रतिलिटर आसपास हुन सक्ने अनुमान गरिएको छ ।

यद्यपि, कम्पनीले मोटरसाइकलमा माइल्ड हाइब्रिड वा पूर्ण हाइब्रिडमध्ये कुन प्रविधि प्रयोग गर्ने भन्ने खुलाएको छैन । इन्जिनको बनावट, पावर र टर्कसम्बन्धी विवरण पनि सार्वजनिक भएको छैन ।

मूल्यका हिसाबले नयाँ २५० सीसी रेन्ज हाल बजारमा उपलब्ध रोयल इनफिल्डका ३५० सीसी मोटरसाइकलभन्दा सस्तो हुने अपेक्षा छ । बजारमा मध्यम क्षमताका मोटरसाइकलको माग बढ्दै गएको बेला रोयल इनफिल्डले नयाँ सेग्मेन्टमा प्रवेश गर्न लागेको हो ।


Back_to_top