काठमाडौं । अमेरिकी मोटरसाइकल निर्माता हार्ले डेभिडसनले आफ्नो नयाँ क्लासिक क्रुजर मोटरसाइकल स्प्रिन्ट ४४० सार्वजनिक गरेको छ ।
कम्पनीले हिरो मोटोकर्पसँगको सहकार्यमा भारतमा निर्माण गरेको स्प्रिन्ट ४४० मोडलको जापानमा बिक्री सुरू गरेको हो । जापानमा यसको सुरूआती मूल्य ८ लाख ९८ हजार ८०० जापानी येन तोकिएको छ ।
नयाँ स्प्रिन्ट भिभिड ब्ल्याक र डार्क बिलियर्ड ग्रे कलर अप्सनमा उपलब्ध भएको छ । कम्पनीले यसअघि इक्मा २०२६ मा प्रदर्शन गरेको यो मोटरसाइकल एक्स४४० प्लेटफर्ममा आधारित छ । जुन भारतमै उत्पादन भएको मोडल हो ।
भारतीय बजारमा स्प्रिन्ट ४४० सन् २०२७ मा सार्वजनिक हुने बताइएको छ । यद्यपि, कम्पनीले यसबारे औपचारिक घोषणा गरिसकेको छैन । तर अमेरिकी बजारमा भने सन् २०२७ को पहिलो त्रैमासमा बिक्री सुरू गर्ने योजना कम्पनीले बनाएको छ ।
हार्ले स्प्रिन्टमा ४४० सीसीको एयर तथा आयल कुल्ड, सिंगल सिलिण्डर, एसओएचसी इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम २७ एचपी पावर र ३८ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पीड गियरबक्ससँगै असिस्ट तथा स्लिपर क्लच दिइएको छ ।
क्रुजर मोटरसाइकल भएकाले यसलाई उच्च गति र पर्फर्मेन्सभन्दा कम आरपीएममै राम्रो टर्क तथा सहज राइडिङ अनुभव दिने गरी तयार गरिएको कम्पनीको भनाइ छ ।
स्प्रिन्टको प्रमुख आकर्षण यसको ६८३ एमएमको कम सिट हाइट हो । यसले कम उचाइ भएका राइडरलाई समेत मोटरसाइकल नियन्त्रण गर्न सहज बनाउनेछ । यसको अगाडि ४३ एमएमको अपसाइड डाउन यूएसडी फर्क र पछाडि सात स्टेप एड्जस्ट गर्न मिल्ने प्रिलोडसहितको डुअल शक एब्जर्बर दिइएको छ ।
ब्रेकिङका लागि दुवै टायरमा डिस्क ब्रेक दिइएको छ । सुरक्षाका लागि डुअल च्यानल एबीएस स्ट्यान्डर्ड फिचरका रूपमा उपलब्ध छ । मोटरसाइकलमा गोलाकार एलईडी हेडलाइट, टियरड्रप आकारको फ्युल ट्यांक, टेपर्ड एक्जस्ट, फास्टब्याक डिजाइनको सिट र एलईडी टेललाइट दिइएको छ । फराकिलो ह्याण्डलबार र अगाडि राखिएका फुटपेगले आरामदायी क्रुजर राइडिङ पोजिसन प्रदान गर्छ ।
स्प्रिन्ट ४४० मा कलर टीएफटी डिस्प्ले र टाइप–सी चार्जिङ पोर्ट उपलब्ध छ । कम्पनीले यसका लागि विभिन्न सिट, लगेज क्यारियर, बार–इन्ड मिरर र स्याडलब्याग जस्ता एसेसरिज पनि उपलब्ध गराउने जनाएको छ ।

