काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक महिनामा २ हजार ३६४ युनिट बढी विद्युतीय प्यासेन्जर कार (ईभी) आयात भएका छन् ।
व्यवसायीले दशैं, तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै ठूलो संख्यामा विद्युतीय कार आयात गरेका हुन् ।
कात्तिकमा आयात भएका दुईतिहाई बढी कार चिनियाँ ब्राण्ड रहेका छन् । सडक र प्रतिकूल मौसमका बाबजूद व्यवसायीले कोरला नाका हुँदै चिनियाँ ईभी कार आयात गरेका हुन् । भारत, थाइल्याण्ड लगायत मुलुकबाट आयातमा भने समस्या छैन् ।
कात्तिकमा डेढ दर्जन बढी ब्राण्डका २ दर्जन बढी विद्युतीय कार मोडल आयात भएका छन् । जसमा नामी भिगो सर्वाधिक आयात हुने मोडल बनेको छ ।
नेपालका लागि डोङफेङको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले कात्तिकमा मात्रै ४०२ युनिट भिगो आयात गरेको छ । कम्पनीले मूल्य समायोजन गरेसँगै भिगोको माग उच्च रहेको छ । विगतमा ४४ लाखमा बिक्री हुँदै आएको भिगो हाल ३८ लाखमै किन्न पाइन्छ ।
दोस्रो धेरै आयात हुने मोडलमा बीवाइडी एटो २ रहेको छ । नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले एक महिना २५९ युनिट एटो २ आयात गरेको छ ।
त्यस्तै, तेस्रो धेरै आयात हुने मोडलका किया सिरोस ईभी रहेको छ । कन्टिनेन्टल ट्रेडिङले कात्तिकमा १९९ युनिट सिरोस ईभी भित्र्याएको छ ।
चौथोमा नेभो क्यू ०५ रहन सफल भएको छ । एमएडब्लू वृद्धि अटोकर्पले गत भदौमा मात्रै नेपाल ल्याएको नेभो क्यू ०५ कात्तिकमा १८३ युनिट आयात भएको छ ।
टाटाको पन्च ईभी पाँचौं स्थानमा छ । सिप्रदीले कात्तिकमा मात्रै १६८ युनिट पन्च ईभी भित्र्याएको छ ।
छैटौं धेरै आयात हुनेमा आइकार भी २३ रहेको छ । एसपीजी अटोमोबाइल्सले कात्तिकमा १५५ युनिट आइकार भी २३ भित्र्याएको छ । पृथक डिजाइन र आकर्षक मूल्यका कारण भी २३ पछिल्लो समय हटकेक मोडल बनिरहेको छ ।
सातौंमा डोङफेङकै नामी बक्स रहेको छ । एमएडब्लू वृद्धिले कात्तिकमा १५० युनिट बक्स भित्र्याएको छ।
आठौंमा चेरी क्यू रहेको छ । गत साउनमा मात्रै नेपाल प्रवेश गरेको चेरी क्यू कात्तिकमा १४९ युनिट भित्रिएको छ ।
नवौंमा पनि नयाँ मोडल नै रहेको छ । गत साउनदेखि जगदम्बा मोटर्सले नेपालमा बिक्री सुरू गरेको प्रोटोन इमास कात्तिकमा १३२ युनिट भित्रिएको छ ।
दशौंमा ट्याक्सीको रूपमा बिक्री हुने टाटा एक्सप्रेस टी रहेको छ । सिप्रदी ट्रेडिङले ९२ युनिट एक्सप्रेस टी भित्र्याएको छ ।
यी बाहेक अन्य मोडलको आयात भने खासै उत्साहजनक रहेको छैन । अरू ब्राण्डले ११० युनिट ईभी कार आयात गरेका छन् ।

