काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी चांगानले इनहाउस तयार पारेको एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडास) ‘एसडीए पाइलट’ सार्वजनिक गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको यो प्रविधिले ड्राइभिङलाई थप सुरक्षित, सहज र तनावमुक्त बनाउने दाबी गरेको छ । चांगानले लामो समयदेखि इन्टेलिजेन्ट ड्राइभिङ प्रविधिमा लगानी गर्दै आएको छ ।
कम्पनीका अनुसार यस प्रविधिको विकासमा हाल ७ हजार ५०० भन्दा बढी इन्जिनियर तथा प्राविधिक जनशक्तिले काम गरिरहेको कम्पनीले बताएको छ । यस क्षेत्रमा कम्पनीले हालसम्म ७.७ अर्ब युरोभन्दा बढी अनुसन्धान तथा विकास (आरएन्डडी)मा लगानी गरिसकेको छ ।
चांगान ग्रुपका अध्यक्ष झु हुआरोङले कम्पनीले आफ्नै प्रविधि विकास गर्ने रणनीतिलाई निरन्तरता दिने बताएका छन् । उनका अनुसार इन्टेलिजेन्ट ड्राइभिङ प्रविधिमा कम्पनीले सन् २००९ देखि काम सुरू गरेको थियो ।
चांगानले सन् २०११ मा फ्रन्ट कोलिजन वार्निङ र लेन डिपार्चर वार्निङका प्रोटोटाइप तयार गरेको थियो । त्यसपछि सन् २०१८ मा लेभल २ इन्टिग्रेटेड एडाप्टिभ क्रुज कन्ट्रोल (आईएसीसी) सिस्टमको व्यावसायिक उत्पादन सुरू गरेको थियो ।
यसको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा सन् २०२५ डिसेम्बर २० मा चीनमा लेभल ३ कन्डिसनल अटोनोमस ड्राइभिङका लागि पहिलो आधिकारिक नम्बर प्लेट प्राप्त गरिसकेको छ ।
कम्पनीले अहिले एसडीए पाइलटका प्रो, म्याक्स र अल्ट्रा गरी तीन तह सार्वजनिक गरेको छ । भविष्यमा यसभन्दा उन्नत प्रविधिसहितको अर्को तह पनि ल्याउने योजना रहेको कम्पनीले बताएको छ ।
एसडीए पाइलटको सबैभन्दा माथिल्लो भर्सन अल्ट्रा भर्सनमा हाइवे एनसीए, अर्बन एनसीए, ४०० भन्दा बढी परिस्थितिमा काम गर्न सक्ने इन्टेलिजेन्ट पार्किङ असिस्ट र ३१ वटा एक्टिभ सेफ्टी फिचर उपलब्ध छन् ।
यसमा ५६० टीओपीएस क्षमताको कम्प्युटिङ चिप र २५६ लाइन लाइडार प्रयोग गरिएको कम्पनीले जनाएको छ । यी प्रविधिको संयोजनले सडकमा देखिने विभिन्न अवरोध तथा जोखिमलाई पहिचान गरी मिलिसेकेन्डमै प्रतिक्रिया दिन सक्ने कम्पनीको दाबी छ ।
यसमा एक्टिभ लाइडार डिटेक्सन र १० हर्जको हाई फ्रिक्वेन्सी रिज्निङ सिस्टम प्रयोग गरिएको छ । यसले कम प्रकाश, तेजिलो घाम, वर्षा तथा कुहिरोमा समेत सम्भावित जोखिम पहिचान गर्न सहयोग गर्ने कम्पनीले बताएको छ ।
एसडीए पाइलटको एन्ड टु एन्ड लार्ज मोडललाई वास्तविक सडकमा सवारी चलाउँदाका २ करोडभन्दा बढी उच्च गुणस्तरका डाटा सेग्मेन्टबाट तालिम दिइएको थियो । यसले चालकको व्यवहारसँग मिल्दोजुल्दो सहज र प्राकृतिक ड्राइभिङ अनुभव दिने कम्पनीको दाबी छ ।
यसमा भिजन र भ्वाइसलाई एकीकृत गरिएको मल्टिमोडल लार्ज ल्याङ्ग्वेज मोडल प्रयोग गरिएको छ । प्राकृतिक भाषामा दिइने भ्वाइस कमान्ड र चालकको ड्राइभिङ व्यवहार सम्झन सक्ने क्षमताले चालक र गाडीबीच सहज संवाद सम्भव बनाउने कम्पनीले जनाएको छ ।
चांगानले इन्टेलिजेन्ट ड्राइभिङ प्रविधिको परीक्षणका लागि एसडीए ल्याब स्थापना गरेको छ । कम्पनीका अनुसार उक्त ल्याबमा २४ घण्टा निरन्तर परीक्षण गर्न सकिने व्यवस्था छ ।
त्यहाँ ४ लाखभन्दा बढी भर्चुअल सिमुलेसन परिदृश्य तयार गरिएको छ । यसले विश्वका २२४ क्षेत्रका विभिन्न मौसमी अवस्थालाई समेट्दै दैनिक ३३ लाख किलोमिटर बराबरको भर्चुअल ड्राइभिङ परीक्षण गरिन्छ ।
यसै कार्यक्रममा एसडीए पाइलट अल्ट्रा प्रयोग गर्ने पहिलो उत्पादन मोडलका रूपमा चांगान नेभो क्यू ०६ को प्रि-बुकिङ पनि खुला गरिएको छ ।

