फास्ट ट्रयाककै लामो महादेवटार सुरुङ ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)कै लामो महादेवटार सुरुङ ब्रेक थ्रु भएको छ ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माण गरिरहेको महादेवटारको दायाँतर्फको (निजगढबाट काठमाडौंतर्फ आउने) ३४२२ मिटर लामो सुरुङ बुधबार बिहान ब्रेक थ्रु भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडलको उपस्थितिमा उक्त सुरुङ ब्रेक थ्रु गरिएको हो । यसअघि गत भदाै भदाै १८ गते हादेवटारकै बायाँतर्फ (काठमाडौंबाट निजगढतर्फ जाने) को ३४८६ मिटर लामो सुरुङ ब्रेक थ्रु गरिएको थियो ।

योसँगै फास्ट ट्रयाक निर्माणमा थप उपलब्धी हासिल भएको छ । फास्ट ट्रयाकमा एकैपटक कुल ११.२१० किमी लम्बाइका ७ वटा सुरुङ निर्माण भइरहेका छन् । हरेक स्थानमा जान र आउन छुट्टाछुट्टै सुरुङ निर्माण भइरहेका छन् ।

तीमध्ये हालसम्म धेद्रे, लेनडाँडा र महादेवटारका दुवै सुरुङ ब्रेक थ्रु भइसकेका छन् । लेनडाँडाको १६२२ मिटर र धेद्रेको १६९० मिटरको सुरुङको सेकण्डरी लाइनिङको काम समेत सकिएको छ ।

महादेवटार सुरुङमा लाइनिङको काम पनि सँगसँगै भइहरेको छ । बाँयातर्फ आधा बढी सकिसकेको छ भने दाँयातर्फ एकतिहाई बढी लाइनिङको काम सकिएको छ । महादेवटार सुरुङको ठेक्का चाइना स्टेटले २१ अर्ब ६१ करोड रुपैयाँमा पाएको हो ।

त्यसैगरी, चन्द्रामभीरको २२५० मिटर लामो सुरुङमध्ये ८४७.७ मिटर, दैवीचौरको १०८७ मिटर मध्ये १५३.६ मिटर र सिसौटारको ५२० मिटरमध्ये ६४.४ मिटर खनिएको छ । ५८३ मिटर लामो मौरीभीर सुरुङको पोर्टल तयारी कार्य भइरहेको छ ।

वि. सं. २०७४ देखि सुरू गरिएको फास्ट ट्रयाकको ५१ प्रतिशत काम सकिएको छ । फास्ट ट्रयाकमा असाेज मसान्तसम्म समष्टिगत रूपमा ९५ अर्ब १७ करोड रुपैयाँ (मोबिलाइजेसनसहित) खर्च भइसकेको छ । आयोजनाको अनुमानित कुल लागत २ अर्ब ११ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । बजेटका आधारमा फास्ट ट्रयाक हाल निर्माणाधीन मध्ये सबैभन्दा ठूलो आयोजना हो ।

यसअघि दुईपटक थपिएको म्यादमा काम नसकिने भएपछि सरकारले फास्ट ट्रयाकको तेस्रो पटक म्याद थपेको छ । गत साउन २० गते बसेको मन्त्रिपरिषद्को बैठकले फास्ट ट्रयाकको म्याद ३ वर्ष अर्थात् २०८६ चैतसम्म थपेको हो ।


Back_to_top