काठमाडौं । बर्दियाको जब्दीघाटमा नयाँ पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । गुलरिया नगरपालिका-४ बगही र बारबर्दिया नगरपालिका-११ जब्दी जोड्ने बबई नदी माथि ४२० मिटर लामो पुल बनाउन नयाँ ठेक्का लगाइएको हो ।
उक्त पुल निर्माणको ठेक्का चितवनस्थित एमआर एण्ड ग्रुपले ६७ करोड ४५ लाख ६९ हजार १५० रुपैयाँमा पाएको छ ।
सम्झौताअनुसार निर्माण कम्पनीले ४२ महिनाभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । दुई लेनमा निर्माण हुने पुलको लम्बाइ ४२० मिटर र चौडाइ ११ मिटर रहेको छ ।
निर्माण व्यवसायीले सम्झौताको ९ महिनाभित्र माटो परीक्षण प्रतिवेदन र पुलको डिजाइन स्वीकृत गराउनुपर्ने सम्झौतामा उल्लेख छ ।
यसअघि २०६८ सालमा पुल निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सनले पाएको थियो । कम्पनीले निर्माण गरेको पुल हस्तान्तरण नहुँदै २०७२ मा भासिएको थियो । त्यसपछि सडक डिभिजन कार्यालय नेपालगञ्जले २०७९ मंसिरमा पप्पुसँगको ठेक्का सम्झौता तोडेको थियो ।
सडक डिभिजन कार्यालय नेपालगञ्जले वि.सं. २०८३ असारमा पुल निर्माणका लागि ठेक्का आह्वान गरेको थियो । ठेक्का प्रक्रियामा चार निर्माण व्यवसायीले प्रतिस्पर्धा गरेकामा प्राविधिक तथा आर्थिक प्रस्तावको मूल्याङ्कनपछि एमआर एण्ड ग्रुप छनोट भएको कार्यालयले जनाएको छ ।
नयाँ पुल निर्माण भएपछि पूर्व-पश्चिम राजमार्गबाट जयनगर बजार हुँदै गुलरिया तथा भारत आवतजावत गर्ने स्थानीयवासी र यात्रुलाई सहज हुनेछ ।

