काठमाडौं । विश्वकै ठूलो न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीले दुई ढोका भएको नयाँ माइक्रोकार बजारमा ल्याउने भएको छ । कम्पनीले चीनमा नयाँ दुई ढोके माइक्रोकारको डिजाइन पेटेन्ट दर्ता गरेको हो ।
चाइना नेशनल इन्टेलेक्चुअल प्रोपर्टी एडमिनिस्ट्रेशनले सार्वजनिक गरेको पेटेन्ट अनुसार नयाँ माइक्रोकारको डिजाइन कम्पनीका प्रमुख डिजाइनर वोल्फगाङ एगरसहित झाओ बिङगेन, सु जियान, हुआङ सी र झाङ सी लगायतले गरेका हुन् ।
बीवाइडीले साना तथा सहरी प्रयोजनका लागि कार खोज्ने ग्राहकलाई लक्षित गर्दै उक्त माइक्रोकार ल्याउन लागेको हो ।
पेटेन्टमा देखिए अनुसार माइक्रोकारको डिजाइन निकै आकर्षक र फरक शैलीको छ । गाडीको अगाडिको भाग पूरा चौडाइको लाइट बार र दुई तहको संरचनासहित बन्द रूपमा तयार गरिएको छ । अगाडि र पछाडि दुवैतर्फ ‘स्माइलिङ फेस’ जस्तै देखिने सन्तुलित र रमाइलो सौन्दर्य पस्किएको छ ।
साथै, उल्लेखनीय रूपमा कम ग्राउण्ड क्लियरेन्सका साथ तय गरिएको यसको स्ट्यान्सले सहरी क्षेत्रलाई लक्षित गरिएको माइक्रोकार प्रोफाइललाई प्रस्ट पार्छ।
बीवाइडीले अहिलेसम्म यो गाडी उत्पादन गर्ने वा बजारमा ल्याउनेबारे आधिकारिक घोषणा गरेको छैन । यसको ब्याट्री क्षमता, मोटर पावर, रेन्ज तथा अन्य प्राविधिक विवरण पनि सार्वजनिक भएका छैनन् । यद्यपि, पेटेन्ट दर्ताले कम्पनीले आफ्नो विद्युतीय सवारी साधनको उत्पादन सूचीमा नयाँ माइक्रोकार थप्ने सम्भावना बारे अध्ययन गरिरहेको संकेत गर्छ ।
बीवाइडीले यसअघि जापानी बजारका लागि ‘राको’ नामको केई कार सार्वजनिक गरिसकेको छ । नयाँ पेटेन्टको डिजाइनमा सहभागी झाओ बिङगेन कम्पनीको डाइनेस्टी रिसर्च इन्स्टिच्युटका प्रमुख हुन् । त्यसैले भविष्यमा यो माइक्रोकार उत्पादनमा आएमा बीवाइडीको डाइनेस्टी सिरिज अन्तर्गत आउन सक्ने अनुमान गरिएको छ ।
नयाँ माइक्रोकारको डिजाइनमा महत्वपूर्ण भूमिका खेलेका वोल्फगाङ एगर यसअघि अउडी समूहको डिजाइन प्रमुख थिए। उनले अउडी र ल्याम्बोर्गिनीका सवारीसाधनको डिजाइनसमेत सम्हालेका थिए ।

